आखिर प्रधानमन्त्रीसँग किन रिसाए बिप्लव ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिएको भन्दै नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द विप्लव आक्रोशीत बनेका छन् । पार्टीमाथिको प्रतिबन्ध फुकुवा, जेल र हिरासतमा रहेका नेता कार्यकर्ताको रिहाई तथा सत्तामा साझेदारी समेतको कुरा भएपनि प्रधानमन्त्री ओलीले बोली फेर्न थालेको विप्लवको बुझाई छ ।
विप्लवले आकस्मीक रुपमा खडगबहादुर विश्वकर्मा नेतृत्वको वार्ताटोली काठमाडौं पठाएर सरकारसँग वार्ता गरेका थिए । दुई दिनमै हतारमा वार्ता सकेर फागुन २१ गते प्रधानमन्त्री ओलीसँग विप्लव आफैंले तीन बुँदे सहमती गरेका थिए । सहमतीपछि प्रधानमन्त्री ओलीको व्यवहार फेरिँदै गएको उनको भनाई छ । ओली र उनका मान्छेले सत्ताको ‘ललीपप’ देखाएर आफुहरुलाई हिस्स बनाएको भन्दै विप्लव पार्टीभित्र चर्चा शुरु भएको छ ।
विप्लव स्वयंले पनि प्रधानमन्त्री ओलीले आफुहरुलाई झुक्याउने व्यवहार देखाएको आफ्ना नेता कार्यकर्तासँग भन्न थालेका छन् । सहमतीपछि तुरुन्तै छाड्ने भनिएका पार्टीका नेता कार्यकर्ता जेल र हिरासतमै छन् । धर्मेन्द्र बास्तोलाबाहेक कोही नेता नछुटेको भन्दै विप्लवमाथि कार्यकर्ताको दबाब समेत परेको छ । विप्लवले ओलीले अटेरी गर्दै गएमा अर्को धक्का दिने भन्न थालेका छन् । तर, अब विप्लवसँग धक्काको लागि कुनै शक्ति सञ्चय नभएको उनकै कार्यकर्ताले भन्न थालेका छन् ।
तीनबुँदे सहमतीबाहेक पनि विप्लवसँग ओलीले पार्टी एकता देखी ‘सत्तामा स्पेस’ दिने कुरा समेत गरेको तर, अहिले धोका दिएको विप्लव माओवादीका एक नेताले बताए । वार्ता चलिरहेका बेला प्रधानमन्त्री ओलीले विप्लवलाई बालुवाटार बोलाएर खड्ग बहादुर विश्वकर्मासमेत तीनजनालाई मन्त्रीको लागी अफर गरेको स्रोतको दाबी छ । यहि विषयमा विप्लवको पार्टीमा समर्थन र विरोधको स्वर समेत सुनिन थालेको थियो ।
पार्टीभित्र खड्ग विश्वकर्मासमेतको एक पक्ष तत्काल ओली सरकारमा जाने तयारीमा छ भने अर्को पक्ष सरकार बाहिर बस्ने तर ओलीसँग कार्यगत एकता गरेर जानुपर्ने लाईनमा छन् । यहि विषयमा विप्लव काठमाडौं आएर प्रधानमन्त्री, गृहमन्त्रीलगायत एमाले नेताहरुसँग भेट गरेको भएपनि वार्ताको समयमा भएको कुराकानी नभएको एक नेताले बताए । ‘सहमती गर्दाभन्दा अहिले ओलीले बोली फेरेको भन्ने हाम्रो बुझाई हो’, विप्लवका एक केन्द्रिय सदस्यले भने, ‘ओलीको भर हुन्न भन्ने जान्दा जान्दै उधारोमा सहमती गरेर गल्ती गरिएछ भन्ने लागेको छ ।’ साझापाेष्टबाट ।