जेलमा रहेपनि पार्टीले गरेकाे निर्णयमा मेरो समर्थन रहन्छ : रेशम चौधरी

निरन्तर न्यूज
१२ चैत्र २०७७, बिहीबार १८:२२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का निलम्बित सांसद रेशम चौधरीले पार्टीले जस्तो निर्णय गर्छ त्यसैमा आफ्नो समर्थन रहने बताएका छन् । पार्टीले गर्ने निर्णयमा आफू बाधक नहुने भन्दै उनले आफूबारे सार्वजनिक सञ्चारमाध्यममा कपोलकल्पित समाचार आइरहेको प्रति ध्यानाकर्षण भएको बताए ।

उनले एक पत्र सार्वजनिक गरी पार्टीको निर्णयमा आफ्नो समर्थन हुने बताएका हुन् । उनले जेलमा भएपनि आफू सांसद रहेको र आफ्नो मर्यादा आफैंलाई थाहा भएको बताए ।

पार्टीको विधि, पद्धती र प्रक्रिया अनुसार अध्यक्ष महन्थ ठाकुरले काम गरिरहेको भन्दै उनले सरकारमा सहभागि हुने र नहुने भन्ने कुरा पार्टीको बैठकले गर्ने निर्णयमा भर पर्ने बताए ।

कैलालीको टीकापुर घटनामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका चौधरीले सरकारमा जान आफूलाई सर्त बनाइएको, रिहा हुनै नसक्ने जस्ता समाचार आएकोप्रति ध्यान आकर्षण भएको बताएका ह्न् ।

उनी कैलाली १ बाट प्रत्यक्षतर्फ विजयी भएका सांसद हुन् । उनी जिल्ला र उच्च अदालतबाट टीकापुर घटनामा दोषी ठहर भएका थिए। घटना लगत्तै फरार रहेका उनी पछि अदालतमा उपस्थित भएका थिए।

आन्दोलनका क्रममा टीकापुरमा एक बालकसहित ८ जना व्यक्तिको ज्यान गएको थियो। पछिल्ला केही दिनमा उनलाई केन्द्रमा राखेर जनता समाजवादी पार्टीले सरकारको अजेन्डा बनाएको छ। सरकार र विपक्षी दलहरुसँगको छलफलमा चौधरीको मुद्दा उठिरहेको छ।

चौधरीलाई माफी दिएमा उनको सांसद पद रहँदैन र सर्वोच्च पुगेकाले मुद्दा फिर्ता लिन नमिल्ने कानुनी व्यवस्थाका कारण जसपाले कुनै पनि पक्षसँग सहमति गर्न सकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*