राष्ट्रपति भण्डारी आज बङ्गलादेशको राजकीय भ्रमणमा जाँदै

निरन्तर न्यूज
९ चैत्र २०७७, सोमबार ०९:५४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमणमा जाँदै छिन् । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उनले दुई दिवसीय भ्रमणमा जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिवलगायत वरिष्ठ अधिकारी तथा सम्बन्धित मन्त्रालयका मन्त्री सहभागी हुने छन् ।

बङ्गलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बङ्गलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीको भ्रमण हुन लागेको हो ।

भ्रमणको अवसरमा राष्ट्रपतिले ‘नेपाल र बङ्गलादेशको सम्बन्ध र बङ्गलबन्धुको जन्म शताब्दी’ को बारेमा सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीसँग बङ्गला भवनमा भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै आफ्ना समकक्षीले आयोजना गर्ने स्टेट ब्याक्वेटमा सहभागी हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी भ्रमणका अवसरमा सावरस्थित राष्ट्रिय शहीद स्मारक र धनमण्डीमा रहेको बङ्गलबन्धुको स्मृति सङ्ग्रहालयको अवलोकन गर्ने छन् । नेपाली प्रतिनिधिमण्डलमा सहभागी सांस्कृतिक टोलीले ढाकामा प्रस्तुत गर्ने शताब्दी समारोह कार्यक्रमको अवलोकन पनि गर्ने छिन् । राष्ट्रपतिको सम्मानमा नेपाली दूतावासमा आयोजना हुने दिवा भोजमा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीसहितको टोली राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० चार्टर्ड जहाजमार्फत बङ्गलादेश जाने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*