एमाले केन्द्रीय समिति अब महाधिवेशन आयोजक समिति, केही नेतालाई स्पष्टीकरण

निरन्तर न्यूज
७ चैत्र २०७७, शनिबार १८:५८

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति १०औं राष्ट्रिय महाधिवेशनका लागि आयोजक कमिटीमा रुपान्तरण गरिएको छ । अहिले रहेका २ सय ६४ सदस्यिय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिणत गर्ने निर्णय गरिएको हो ।

शनिबार बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले २०७८ मंसिर ३ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय पनि गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । केन्द्रीय समिति बिस्तार गर्ने ओलीको निर्णयलाई माधव नेपाल समूहले भने अस्वीकार गर्दै आएको छ ।

बैठकले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, केन्द्रीय नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।

बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हाटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कार्बाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको हो ।

पार्टीका तर्फबाट अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय भएको पनि ती नेताले जानकारी दिए ।

यी अख्तियारीसँगै अब ओलीले समानुपातिक सांसद हटाउन सक्नेछन् । बन्दसूचि हेरफेर गर्नसक्ने अधिकार पाएसँगै ‌ओलीले नेपाल समूहका समानुपातिक सांसदलाई कारबाही गरेर उक्त स्थानमा माओवादीबाट एमाले छिरेका नेताहरुलाई भित्र्याउन सक्नेछन् । यद्यपि यसका लागि कानुनी अप्ठ्याराहरु भने रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*