शहीद स्मृति फुटबल फाइनल खेलको प्रिम्याच कम्फ्रेन्समा दुबै टिमलाई शुभकामना

५० रुपैया घटाएर टिकट दर २ सय ५० कायम गरियाे
निरन्तर न्यूज
६ चैत्र २०७७, शुक्रबार १७:२८

हेटौंडा । हेटौंडामा जारी तेस्रो शहीद स्मृति हेटौंडा गोल्डकप प्रतियोगिता आयोजनास्थल हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा आयोजित फाइनल खेलको प्रिम्याच कम्फ्रेन्समा खेलका विजेता तथा उपविजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुरस्कार वितरण गर्नुहुने जानकारी दिइएकाे छ ।

शनिबार प्रतियोगिताको फाइनलमा आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ र त्रिभुवन आर्मी फुटबल क्लबबीच खेल हुने प्रतियाेगिताका संयाेजक प्रताप बिष्टले जानकारी दिए । यसै क्रममा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले दुबै टिमलाई जितकाे शुभकामना दिए ।

प्रिम्याच कन्फ्रेन्समा रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ का प्रशिक्षक विजयलाल श्रेष्ठ, व्यवस्थापक युवराज लामाले सेमीफाइनलमा लिग विजेता टोलीलाई हराएको उत्साहले टिममा उर्जा थपिने बताए ।

त्रिभुवन आर्मी फुटबल क्लबका व्यवस्थापन चुनबहादुर थापाले एएफसी प्रतियोगिताको तयारीमा रहेको टिमका लागि विदेशी टोलीसहित राष्ट्रिय टिमका सदस्य रहेको मकवानपुर–११ सँगको फाइनल खेल महत्वपूर्ण हुने बताउनुभयो ।

त्रिभुवन आर्मीका क्याप्टेन टेकबहादुर बुढाथोकीले वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा ४ पटक फाइनल खेलेर दुईपटक उपाधि जितिसकेको र तेस्रो उपाधिका लागि आतुर रहेको बताउनुभयो । प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ पाउने छ ।

यस्तै उत्कृष्ट खेलाडीले रोयल इनफिल्ड वाइक पाउनेछ भने विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ नगद पाउनेछ । फाइनल प्रतियाेगिता हेर्नकाे लागि प्रवेश शुल्क ३ सय रुपैया ताेकिएपनि दर्शकहरुकाे चाहनालाई मध्य नजर गरेर ५० रुपैया घटाएर २ सय ५० मात्र कायम गरिएकाे अध्यक्ष लामाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*