प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं । सर्वोच्च अदालतको आदेशका कारण प्रतिनिधिसभा ब्युँतिएपछिको चौथो बैठक आज बस्दैछ ।
दिउँसो १ बजेपछि नयाँबानेश्वरमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका दोस्रो तहका नेताले मन्तव्य राख्ने कार्यतालिका तय भएको संसद सचिवालयले जनाएको छ ।
यसअघिका दिनहरूमा संसद सुरु भएकै दिन मन्तव्य राख्ने चलन भए पनि यसपाली त्यसको पालना भएन । यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूले शुभकामना दिने व्यवस्था नगरिएको भन्दै सरकारको आलोचना भएपछि आज मन्तव्यको कार्यक्रम राखिएको हो ।
सत्तारूढ नेकपा एमालेभित्रको विवाद, दलहरूबीचको संवादहिनताको अवस्थाका कारण पनि यसपाली तनावपूर्ण अवस्थामा प्रतिनिधिसभाको बैठक सुरु भएको थियो । आजका लागि अध्यादेश र विधेयक पेश गर्ने कार्यसूची भने तय गरिएको छैन ।
संसद सचिवालयले तयार पारेको सम्भावित कार्यक्रममा सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम सांसदहरूबाट प्राप्त अनुपस्थितिको सूचनाहरु स्वीकृतिको लागि प्रस्तुत गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको एकसठ्ठीऔं वार्षिक प्रतिवेदन २०७७, राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने, शोक प्रस्ताव पारितलगायत उल्लेख छ ।