एमाले खनाल-नेपाल पक्षकाे भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकियो

निरन्तर न्यूज
६ चैत्र २०७७, शुक्रबार ०८:३७

काठमाडौं। नेकपा (एमाले) को खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै आज सकिएको छ ।

भेला ललितपुरको हेरिटेज होटलमा बुधबारदेखि सुरु भएको थियो । भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको र उनीहरुको सुझावसमेत समेटेर १७ बुँदे प्रस्ताव पारित गरिएको छ ।

भेलाले संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसलाप्रति भने असहमति जनाएको छ ।

नेपालको प्रस्तावमा फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको विशेष बैठक भनी गरेको विभिन्न निणर्यलाई अस्वीकार गर्ने उल्लेख छ । भेलामा सहभागी नहुन अध्यक्ष ओलीले सार्वजनिक रुपमा धम्की दिएको भन्दै सम्मेलनले गुट र सत्ता स्वार्थमा पार्टीको दुरुपयोग नगर्न ओलीलाई आग्रह गरेको छ ।

ओलीका विभिन्न गतिविधिप्रति दुःख व्यक्त गर्दै भेलाले एकतापूर्वको स्थिति स्वीकार गरी २८ गतेको निणर्य रद्द गर्न माग गरेको छ । यस्तै, ओलीका कदमविरुद्ध दृढताकासाथ उभिन कार्यकर्तालाई आव्हान गरेको छ ।

ओलीले नेपालको हितप्रतिकूल निणर्य गरेको दाबी गर्दै सच्याउन तथा असमान सन्धि-सम्झौता पुनरावलोकन गर्न माग गरेको छ ।

एमसीसी राष्ट्रिय हितअनुरुप हुनुपर्ने भेलाको निष्कर्ष छ । त्यस्तै भेलाले कोरोना महामारीको खोपको भरपर्दो व्यवस्था गर्न पनि माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*