शहिद स्मृति गोल्डकपकाे फाइनलमा मकवानपुर ११ र नेपाल आर्मी शनिबार भिड्ने
हेटाैँडा । हेटौँडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी फाइनलमा प्रवेश गरेकाे छ । वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा चैत्र ७ गते शनिबार हुने फाइनलमा आर्मीले आयोजक मकवानपुर ११ सँग सामना गर्नेछ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनलाई १–० गोल अन्तरले हराउँदै विभागीय टोली नेपाल आर्मी फाइनल प्रवेश गरेकाे हाे ।
आर्मीको जितका लागी आशिष शाक्यले गाेल गरेका थिए । बिहीबारको खेलको म्यान अफ दी म्याच आर्मीका क्याप्टेन टेक बहादुर बुढाथोकी घोषित भए । उनले नगद रु १० हजार पुरस्कार प्राप्त गरे । विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
फाइनलकाे लागि प्रवेश शुल्क ३ सय रुपैया तय गरिए पनि आयाेजकले फाइनलमा २ सय ५० मात्र ताेकेकाे छ ।