आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । पुनःस्थापनापछिको तेस्रो बैठक आज बस्न लागेको हो । संसद् भवन नयाँ बानेश्वरमा बस्ने आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघिका दुई बैठक प्रतिपक्षी दलहरुको अवरोधका कारण स्थगित गरिएको थियो ।
संसद सचिवालयले जारी गरेको बैठकको कार्यतालिका अनुसार आजको बैठकमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची मात्रै रहेको छ । बैठकको कार्यसूची अनुसार आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नेछन् र त्यसपछि संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पेस गर्नेछन् ।
पुनःस्थापना पछिको पहिलो बैठकमा नेपाली काँग्रेसको नाराबाजीबीच एउटा मात्र अध्यादेश प्रस्तुत भएको थियो भने दोस्रो बैठकमा पूर्व तथा बहालवाला १४ सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएको थियो ।