पूर्बी मकवानपुरमा बागमती गोल्डकप हुँदै
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता चैत १३ गते देखि २२ गतेसम्म हुने भएको छ । आइतबार बागमती गाउँपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बागमती खेलकुद विकास समितीको आयोजनामा हुने प्रतियोगितामा समितिका अध्यक्ष भिम बहादुर राइले प्रतियोगितामा प्रथम हुने टिमलाई ८ लाख र दोस्रो हुने टिमलाई ४ लाख रुपैंयासहित शिल्ड, प्रमाणपत्र दिईने बताए ।
चैत १३ गतेदेखि २२ गतेसम्म हुने प्रतियोगिता हेटौंडाबाट ४५ किलोमिटर पूर्वस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा ७७ लाख ४५ हजार रुपैंया खर्च हुने उनले बताए ।
ए डिभिजन र मोफसलका टिमसहित १० टिमको सहभागिता रहने प्रतियोगिताको करिब २५ हजार जना दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५१ हजार तथा विधागत उत्कृष्ट खेलाडी ६ विधामा जनही १० हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पाँच हजार रुपैंयासहित मेडल र प्रमाणपत्र दिईने अध्यक्ष राईले बताए ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले शैक्षिक क्षेत्रलाई सुधार गर्नको लागि खेलकुदकाे लगानीलाई प्राथमिकतामा राखेकोले प्रतियोगिताका लागि गाउँपालिकाले ३५ लाख रुपैंया सहयोग गर्ने बताए ।