ओली र नेपालसँग छुट्टाछुट्टै वार्ता गर्दै बामदेव गाैतम
काठमाडौं । नेकपा एमाले नेता तथा एकता अभियानका संयोजक वामदेव गौतमले पार्टीभित्र देखिएको समस्या समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालसँग छलफल तीव्र पारेका छन् ।
अध्यक्ष ओलीको नेतृत्वमा शुक्रवार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले विभिन्न निर्णय गरेपछि नेपाल पक्षका नेताहरू असन्तुष्ट भएकाबेला अभियानका संयोजक गौतमले आफ्नो सक्रियता देखाएका हुन् ।
उक्त अभियानको शनिवार बसेको बैठकले पार्टी भित्रको समस्या समाधान गर्न अभियान सक्रिय हुने निर्णय भएको स्रोतले जनाएको छ । नेता गौतमले अध्यक्ष ओली र नेता नेपालसँग छुट्टाछुट्टै वार्ता गर्ने निर्णयमा पुगेको बताइएको छ । शुक्रवारको बालुवाटार बैठकको निर्णयपछि नेता नेपाल पक्षले शनिवार पार्टीभित्र समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको छ । सो पक्षले सातै प्रदेशमा इन्चार्ज तोकेको छ ।