माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, बादललाई बिदाई गरिने

निरन्तर न्यूज
१ चैत्र २०७७, आईतवार १०:५९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । शनिबार बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ ।

आज बस्ने केन्द्रीय कमिटीको बैठकले यस विषयमा निर्णय गर्न सक्ने बताइएको छ । यस्तै हिजोको बैठकले चैत २ गतेका लागि आह्वान गरिएको राष्ट्रिय कार्यकर्ता भेला पनि स्थगित गरेको छ ।

शनिबारको बैठकले एमालेको केन्द्रीय समितिमा सिफारिस भएका माओवादी केन्द्रका २३ जना नेतालाई आफ्नो पोजिशन २४ घण्टाभित्र स्पष्ट पार्न पनि निर्देशन दिएको थियो ।

गृहमन्त्री थापा बादललगायतका मन्त्री तथा अन्य नेताले माओवादी केन्द्रले दिएको आदेश पालना गरेनन् भने के होला ? भन्ने प्रश्न पनि जन्मिएको छ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईको विचारमा पार्टीले दिएको आदेश पालना नगरे,मन्त्रीबाट नहटे वा एमालेको केन्द्रीय सदस्यबाट राजीनामा नदिए माओवादी केन्द्रले आफ्ना मन्त्री तथा नेतालाई थप कारबाही गर्न सक्छ ।

अन्य नेताको हकमा पार्टी जिम्मेवारी र सदस्यबाट हटाइएको सार्वजनिक जानकारी गराउन सक्छ भने सांसदको हकमा उनीहरू माओवादी केन्द्रको तर्फबाट सांसद नरहेको पत्र सभामुख अग्निप्रसाद सापकोटालाई दिन सक्ने भट्टराईको बुझाई छ ।

यस्तो अवस्थामा हाल सांसद रहेका बादललगायतका सबैजसोले तत्काल मन्त्री र सांसद पद दुवै गुमाउनुपर्ने हुनसक्ने अनुमान गरिएको छ । यसबाट ओली थप दबावमा पर्न सक्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*