सुमार्गीले पत्रकारलाई पाठ सिकाउन खोज्दा कृष्ण अग्रवाल रनथनिए
हेटौंडा । व्यवसायी कृष्णकुमार गुप्ता अग्रवालले मकवानपुर उद्योग वाणिज्य संघको आगामी चैत्र अन्तिम साता हुने निर्वाचनमा अध्यक्षसहित प्यानलको उम्मेद्वारी घोषणा गर्ने पत्रकार सम्मेलन मकवानपुरे पत्रकारहरुले बहिष्कार गरेका छन् । आज दिउँसो होटल प्रकाशमा आयोजना गरिएको उम्मेदवारी घोषणाको पत्रकार सम्मेलन पत्रकारहरुले बहिष्कार गरेका हुन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा पत्रकारमाथि अनावश्यक लालछना लगाउने काम भएपछि पत्रकारहरुले बहिष्कार गरेर हिँडेका हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य अरुणराज सुमार्गीले पत्रकारिताको पाठ सिकाउँदै पत्रकार माथि अनावश्यक टिप्पणी गरेपछि कार्यक्रममा सहभागी सबै पत्रकार हिँडेका थिए ।
बोल्ने क्रममा सुरुबाटै पत्रकार माथि हमला गरेका सुमार्गीले मकवानपुरमा आफुले धेरै लगानी गरेको तर पत्रकारले समाचार नलेखेको भन्दै पत्रकारलाई गाली गरेका थिए । उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका अग्रवाललाई पनि शुद्धिकरण गरेर ल्याएर आफैले अध्यक्ष बनाउन लागेको बताएका थिए ।
पटकपटक पत्रकार माथि हमला गरेपछि पत्रकारहरुले सुमार्गी बोल्दाबोल्दै प्रतिवाद गरेका थिए । तर पनि उनले पत्रकारलाई अर्ती र उपदेश दिँदै पत्रकारिता सिकाउन नछाडेपछि सबै पत्रकारले बहिष्कार गरेर निस्किएका थिए । उनले मकवानपुरे पत्रकार माथि समाचारको विषयलाई लिएर विभिन्न आरोप लगाएका थिए ।
सुमार्गीले पत्रकारहरुलाई गाली गरेपछि त्यसको असर अध्यक्षका उम्मेदवार कृष्ण गुप्ता अग्रवाललाई परेको छ । पत्रकारहरुले कार्यक्रम बहिष्कार गरेपछि अग्रवाल पत्रकारलाई कार्यक्रममा बसिदिन आग्रह गर्दै थिए । पत्रकार सम्मेलनमा मउवासंघका अध्यक्ष कृष्ण कटुवाल, निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठलगायतका व्यवसायीको सहभागिता रहेको थियो । बाइलाइनबाट ।