यारको पत्र विप्लवलाई

गंगा श्रेष्ठ ' मानव'
२१ फाल्गुन २०७७, शुक्रबार १३:०३

प्रिय यार विप्लव
अभिवादन !
यार´ भन्ने सम्बोधन अप्रिय त लागेको छैन नि ? मलाई विश्वास छ, तिमीलाई यो सम्बोधन पक्कै प्रिय लाग्नेछ । किनकि, विगतमा हामी एकअर्कालाई यसरी नै सम्बोधन गर्थ्यौं । प्रिय यार नेत्र ! अझ मैले तिमी पनि पो भनेँ त । रिसाउँदैनौ नि ? हामी विद्यार्थी जीवनमा पनि `तिमी´ सम्बोधनमै रमाउँथ्यौं, पछि क्रान्तिकालभरी पनि यही सम्बोधनमा रमायौं । आज पनि मलाई तिमीप्रति सम्मान र प्रेम व्यक्त गर्न यही शब्द उपयुक्त लाग्यो । हाम्रो उपनाम जुराउनुभन्दा पहिला हाम्रो नाम त नेत्र र गंगा नै हो नि है ! तिमी नेत्र विक्रम चन्द, म गंगा श्रेष्ठ । यही नामले तिम्रो र मेरो परिचय भएको थियो ।

तिमी वार्तामा आयौ । त्यसैमा म खुब खुसी छु । मेरो विश्वास छ, सरकारले पनि तिमी र तिम्रो पार्टीविरुद्ध दाउपेच गर्नेछैन र तिमीले पनि । सरकार, तिमी र तिम्रो पार्टी साँच्चै नेपाल र नेपाली नागरिकप्रति जिम्मेवार र जवाफदेही बन्नेछन् ।

प्रिय साथी ! विगतका ती दिनहरू आज पनि मेरो स्मृतिमा ताजै छन् । विगतका हाम्रा ती वाचा र प्रतिबद्धताहरू गंगाले विस्मृतिमा पुरेकि भन्ने तिमीलाई लागेको छ भने, त्यो तिम्रो भ्रम मात्रै हो । बर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक असमानताका विरुद्ध लड्ने हाम्रो प्रतिबद्धतामा आज पनि म चट्टानजस्तै दृढ छु । पक्कै पनि यी असमानता र विभेदविरुद्धका हाम्रो लडाइँको तरिकाहरू केही समय फरक भएकै हुन् । तर अब मलाई विश्वास छ, हामी एकै ठाउँमा हुनेछौं ।

प्रिय साथी ! जुनबेला हामी विद्यार्थी राजनीतिमा सक्रिय थियौं; ती दिनहरू त तिमीले भुलेका छैनौं नि ? तिमी रोल्पाबाट उच्च शिक्षा हासिल गर्ने सपना बोकेर काठमाडौ आयौ, म सिन्धुलीबाट । हाम्रो भेट काठमाडौमा भयो । हाम्रो सपना मिल्यो । हाम्रो उद्देश्य मिल्यो । हाम्रो लक्ष्य एउटै थियो । त्यसैले हामी एक भयौं । पहिले चिन्दै नचिनेका हामी तपाईंबाट तिमीमा झर्‍यौं । साँच्चै मित्र ! हामी विचारमा मात्रै होइन, भावनामा पनि एक भयौं । प्रेमिल जोडीजस्तै ।

हामी कहिले वसन्तपुरको डबलीमा बसेर नेपाललाई कसरी नयाँ बनाउन सकिन्छ भनेर विविध योजना बनाउँथ्यौं । कहिले ईन्द्रचोकको गल्लीमा भौतारिँदै नेपाललाई इन्द्रधनुषी रंगमा कसरी सजाउन सकिएला भनेर सल्लाह गर्थ्यौं । साँच्चै कति रंगीन थिए है हाम्रा ती सपनाहरू ? प्रिय नेत्र ! ती दिनहरू सम्झँदा खै तिमीलाई कस्तो अनुभूति हुन्छ ? मलाई थाहा भएन । तर मभने आज पनि असाध्यै रोमान्चित हुन्छु ।

लेखक : गंगा मानव

बन्दुकको नालमा टिकेको एकात्मक सामन्ती राजतन्त्रको अन्त्य जनयुद्धविना सम्भव छैनभन्ने कुरामा हामीबीच जुन चट्टानी विश्वास थियो, सायद त्यसैले होला त्यसबेला हाम्रो टीमले हाम्रो औकात अनुसार तत्कालीन नेतृत्व (प्रचण्ड, किरण र बाबुराम) लाई शीघ्रातिशीघ्र जनयुद्ध सुरु गर्न दवाव दिन्थ्यौं । सायद त्यो दवावले पनि होला, नेपालमा जनयुद्ध २०५२ मा सुरु भयो । हो, त्यतिखेर हामी संख्यामा असाध्यै थोरै थियौँ, तर हाम्रो क्रान्तिप्रतिको निष्ठा अत्यन्तै उच्च थियो ।

क्रान्तिप्रतिको निष्ठा यस्तो अजेय हतियार रहेछ, अहिले सम्झँदा अचम्मित हुन्छु म । मैले सरस्वती क्याम्पसमा खाएको चुटाइ, तिमी र मैले पाटन क्याम्पसमा खाएको गोदाइ, त्रिभुवन विश्वविद्यालयको होस्टेलबाट तत्कालीन नेविसंघको दादागिरी सामना गर्न नसकेर रातारात भाग्नुपरेको त्यो बेलाको मेरो दु:ख यी सबै सम्झँदा आज गर्व लाग्छ मलाई । साँच्चै मित्र ! हाम्रो क्रान्तिकारितामा पाइन थप्ने काम तीनै घटनाहरूले गरेजस्तो लाग्छ आज मलाई ।

सुख र दु:ख केवल अनुभूति मात्रै हो भन्ने कुरा हामीले त्यसैबेला आफ्नो जीवनमा प्रमाणित गरेका थियौं । त्यसबेला (२०४७ देखि २०५२ सम्म) न त हाम्रो खाने गाँसको ठेगान थियो न त सुत्ने बासको । बाङ्गेमुढाको विद्यार्थी केन्द्रीय कार्यालयमा तिमी, म र भरत सिग्देललगायतका साथीहरू ब्यानर ओछ्याएर, झन्डा ओढेर, कैयौं रात भोको पेट बिताएको अहिलेजस्तै लाग्छ मलाई ।

एकछाक मासु खान नपाएर आँत सुख्खा हुँदा तिमीले असनको साँढेको जुरो मुसारेको, शोभाभगवतीको गन्हाउने बोका ताकेको, अन्त्यमा केही नलागेपछि गुन्द्रुक र भात खाएर सुतेको याद पनि ताजै छ मित्र मलाई । बाङ्गेमुढामा १२ रुपैयाँमा मासुभात खाँदा तिमी जण्डिस भएर बालबाल बँचेको घटना पनि मैले आजसम्म बिर्सेको छैन । तैपनि हामी कहिल्यै निराश भएनौं । हरेस खाएनौं । सधैं क्रान्ति-क्रान्ति भनेर व्यक्तिगत सुखसुविधा सबै तिलान्जली दिएर दौडिरह्यौं । सामूहिकतामा कति धेरै शक्ति हुन्छ भन्ने कुरा हामीले त्यतिबेला नै बुझेका थियौं ।

पार्टीले जनयुद्ध सुरु गर्ने उद्घोष गर्दा सायद हामी जति खुसी अरु कोही भएनन् होलाजस्तो लाग्थ्यो हामीलाई । `हारे हत्कडी जिते संसार´ हाम्रो दिमागमा यो भन्दा अरु केही थिएन । हामी सहिद बन्न मन्जुर थियौं । मन्जुर मात्रै होइन, आतुर थियौं । हामी त सहिद हुनेछौं नै, तर हाम्रो प्रत्येक रक्तकणबाट क्रान्ति सम्पन्न गर्ने रक्तबीज जन्मनेछन्

भन्ने हाम्रो विश्वास थियो । त्यही विश्वास बोकेर म गृह जिल्ला सिन्धुली गएँ । २०५२ फागुन १ गते सिन्धुलीगढी प्रहरी चौकी कब्जामा सहभागी भएँ । तिमी पनि पश्चिम कालिकोट गयौ ।

त्यसपछि हामी आ-आफ्नो मोर्चामा इमानदारीपूर्वक डटिरह्यौं । म जनयुद्ध सुरु भएको ३ महिना नबित्दै पक्राउ परेँ । धन्न संयोगले बाँचे । ५ वर्ष ३ महिना कठोर जेल जीवन बिताएँ । त्यसबीचमा हाम्रो भेट भएन । हुन सम्भव पनि थिएन । किनकि, तिमी जनयुद्धको तूफानी केन्द्रमा युद्ध लड्दै थियौ । म जेलमा जीवनमरणको लडाइँ लड्दै थिएँ । फेरि पनि हामी एउटै उद्देश्यका लागि फरकफरक मोर्चाबाट दुश्मनविरुद्ध लडाइँ लड्दै थियौं । भौतिक रूपमा जहाँजहाँ भए पनि हामी एउटै मोर्चामा थियौं ।

म जेल मुक्त भएपछि तिम्रो र मेरो भेट वर्षौंपछि रोल्पाको फुन्टिवाङमा आयोजना गरिएको केन्द्रीय समितिको बैठकमा भयो । त्यतिबेला हामीमा क्रान्तिप्रतिको निष्ठा उत्तिकै हुँदाहुँदै पनि वैचारिक रूपमा केही भिन्नता आएको अनुभूति भयो । खासगरी पार्टी निर्माण र सन्चालनमा जनवादी-केन्द्रीयताको नाममा स्तालिनवादी शैलीलाई आदर्शीकरण गर्ने कि त्यसको विरोध गर्ने भन्ने बिषयमा त्यतिबेला पार्टीभित्र चलिरहेको बहसमा हामी एक ठाउँमा हुन सकेनौं । पार्टी निर्माण र सन्चालनमा स्तालिनवादी शैलीलाई आदर्शीकरण गर्नुहुन्न भन्ने त्यसबेला मेरो धारणा थियो र आज पनि छ ।

माओवादी पार्टीभित्र चलेको प्रचण्ड-बाबुराम (यो व्यक्तिबीचको अन्तर्संघर्ष नभएर वैचारिक अन्तर्संघर्ष थियो) बीचको अन्तर्संघर्षमा तिमी प्रचण्डतिर र म बाबुरामतिर भएँ । मेरो कार्यक्षेत्र पूर्व र तिम्रो कार्यक्षेत्र पश्चिम भयो । जसका कारण हाम्रो भौतिक रूपमा खासै भेट भएन । भावनात्मक रूपमा हामी असाध्यै निकट रहँदारहँदै पनि वैचारिक रूपमा हामीबीच दूरी रह्यो ।

शान्ति प्रक्रियामा आएपछि प्रचण्डको पार्टी सन्चालन गर्ने शैलीसँग हामी दुबैजना सहमत हुनसकेनौं । जसका कारण विगतमा रहेको हाम्रो दूरी घट्दै गयो । हाम्रोबीचमा सामिप्यता बढ्दै गयो । तर विडम्बना ! हामीबीचको वैचारिक दूरी भने घट्न सकेन ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याएर समृद्धिको बाटोमा अघि बढ्नुपर्छ भन्ने बाबुरामको विचारसँग म सहमत भएँ । तिमीभने शान्ति सम्झौता धोखा हो, जनयुद्ध जारी राख्नुपर्छ भन्ने किरणको विचारसँग सहमत भयौ । प्रचण्डको अकर्मण्यताप्रति न त तिमी सहमत भयौ न त म सहमत भएँ । आज जसरी माओवादी पार्टी छिन्नभिन्न भएको छ र जनयुद्धका उपलब्धिहरू गुम्दै गइरहेका छन्; त्यसको मुख्य कारण प्रचण्डको अकर्मण्यता नै हो ।

प्रचण्डसँग सम्बन्ध बिच्छेद गर्ने अन्तिम तयारी भैरहँदा पनि तिमीसँग भेटेर मलगायत केही साथीहरूले जनयुद्ध अब सम्भव छैन भनेका थियौं । तर तिमी प्रचण्डसँग बस्न संभव छैन भन्ने अन्तिम निष्कर्षमा पुगिसकेका थियौ । त्यसैले प्रचण्डसँग शीघ्र सम्बन्ध बिच्छेद गर्न किरण र बादललाई दबाव हाल्यौ । त्यो कामयावी पनि भयो । पार्टी अलग भयो । किरण र बादलबाट पनि जनयुद्धको जहाज गन्तव्यमा पुग्दैन भन्ने तिमीलाई लागेकै थियो । मसँग तिमीले खुलेरै यो कुरा पटकपटक भनेकै थियौ । अन्ततः `एकीकृत क्रान्ति´ को नयाँ प्रस्तावसहित किरणसँग पनि सम्बन्ध बिच्छेद गर्दै नयाँ पार्टी गठन गर्‍यौ ।

प्रिय कमरेड विप्लव ! क्रान्तिप्रतिको तिम्रो निष्ठामाथि म शंका गर्दिनँ । तिमीले अलग्गै पार्टी गठन गरेर क्रान्तिकर्म गर्न कोसिस गरेकोमा मेरो उच्च सम्मान छ । तर एक्काइसौं शताब्दीमा न त लेनिनवादले क्रान्ति हुन्छ न त माओवादले । पुँजीवाद र साम्यवादले आजको देश, दुनियाँको नेतृत्व गर्न संभव छैन । यी दुबै सिक्काका एक-एक पाटा मात्रै हुन् । आजको देश दुनियाँलाई चाहिएको सिङ्गो सिक्का हो, एकपाटे सिक्का होइन । सिङ्गो सिक्का भनेको आजको दुनियाँमा समुन्नत समाजवाद हो ।

सायद यही सच्चाइलाई आत्मसात गर्दै `एकीकृत क्रान्ति´ को प्रस्तावना अघि सारेका हौला । तर मित्र, तिम्रो `एकीकृत क्रान्ति´को प्रस्तावनामा पनि कुनै नौलो कुरा भेटिनँ मैले । तिम्रो `एकीकृत क्रान्ति´को प्रस्ताव पढेपछि त झन् म अन्यौलमा परेँ ।

जे होस् सरकारसँग तिम्रो पार्टीको वार्ता भएको छ । तिमी आज आफ्नो पछिल्लो भूमिगत जीवनबाट देशको केन्द्रीय राजधानी काठमाडौँमा पछिल्लो पटक सार्वजनिक भएर नेपाली नागरिकलाई सम्बोधन गर्दैछौ । तिम्रो सम्बोधन सुन्न लाखौं नागरिकहरू व्यग्र छन् । तिमी र तिम्रो पार्टीसँग वार्ता गर्ने सरकारको नियतमाथि अधिकांश नेपालीहरूलाई शंका छ । तिमी र तिम्रो पार्टीलाई के छ, त्यो तिमीलाई नै थाहा होला ।

आज देश डरलाग्दो भुमरीबीचमा फसेको छ । सर्बोच्चको फैसलाले पुनर्स्थापित प्रतिनिधिसभा अझै विघटन गर्नसक्ने संभावना देखिन्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान धरापमा छ । पक्कै पनि यो संविधान अपूर्ण छ । यसमा दुईमत छैन । संविधानको सापेक्षित पूर्णताका लागि भावी दिनमा सबै मिलेर संघर्ष गर्न जरुरी छ । तर अहिले नै यो संविधान च्यातियो भने अब कस्तो संविधान बन्ला ?

त्यसैले यस संविधानको रक्षा गर्दै देशलाई भयानक भुमरीबाट बाहिर निकाल्ने कि ? विप्लव कामरेड ! देशलाई भुमरीबाट बाहिर निकाल्न यसो गर्दा कसो होला-

१) सहमतिमा सरकार गठन गर्ने

२) सहमतिमा संविधान संशोधन गर्ने

३) शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने

४) सहमतिमा आगामी निर्वाचन सम्पन्न गर्ने ।

उही तिम्रो यार
गंगा श्रेष्ठ (मानव)
अनलाइन खबर बाट साभार गरिएको ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*