आज प्रधानमन्त्री र बिप्लवले एउटै मञ्चबाट सम्बाेधन गर्ने
काठमाण्डाैँ। सरकार र बिप्लब समूहबीच भएकाे तीनबुँदे सहमतिलाई आज दिउँसो २ बजे एक समारोहकाे आयाेजनागरि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को उपस्थितिमा सार्वजनिक गरिने भएकाे छ ।
आज राष्ट्रिय सभागृहमा हुने उक्त समाराेहमा प्रधानमन्त्री ओली र विप्लवले संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन् ।
उक्त वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।
सरकारी वार्ता टोली प्रमुख गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिष्ट पार्टीका वार्ता टोली प्रमुख एवं प्रवक्ता प्रकाण्डद्वारा जारी संयुक्त प्रेस बिज्ञप्तीमा फागुन २१ गते दिउँसो २ बजे प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने उल्लेख गरिएकाे छ । सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच विहबार ३ बुँदे सहमति भएको जनाईएको छ ।
सहमतीमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनितिक बिषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, सम्पूर्ण राजनितिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाईएको नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिवन्ध हटाउने, सम्पूर्ण बन्दिको रिहाई र मुद्दा खारेजी गर्ने उल्लेख गरिएको छ ।