सबैले छातीमा माटो राखेर आत्मसमीक्षा गरौं, प्रजातन्त्र दिवसमा पूर्वराजाको सन्देश
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरुको शासन प्रणाली मात्र नभएको बताएका छन् ।
७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले प्रजातन्त्र भनेको सामाजिक जीवन पद्धति भएको बताएका छन् । हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहने उनले बताएका हुन् ।
सन्देशमा उनले भनेका छन्, ‘जनता र राजाको सहमतिबाट नेपाल खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति शुरु गरिएकोमा मुलुक दिनप्रति दिन जटिलतामा फस्दै गएको महशुस आम नेपालीले गरिरहेका छन् ।’
पूर्वराजा शाहले अगाडि भनेका छन्, ‘राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौं ? सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको छ ।’
प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था हो, विश्वमान्य प्रजातन्त्रको सिद्धान्त अनुरुप नेपालमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस् भन्ने सबैको आकांक्षा रहेको उनको तर्क छ । उनी भन्छन्, ‘प्रजातन्त्र प्राप्तिको ७० वर्ष पछि आएर पनि हामी अहिले प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त छौं, ग्रस्त छौं ।’
उनले अगाडि भनेका छन्, ‘प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो । जनताको आस्था, चाहना र जनभावना अन्तत अमिट रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिदैन बटारिन्न ।’ विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् ।
फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरूको शासन प्रणाली मात्रै नभएको भन्दै नेपाली जनताले वास्तविक प्रजातन्त्रको अनुभूति गर्न नपाएको बताएका हुन् ।