विशेष कारण भन्दै बागमती प्रदेशसभा बैठक फेरि स्थगित
हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा बैठक आज २ बजेका लागि बोलाइएको थियो ।
मूख्यमन्त्री डोरमणि पौडेलविरूद्ध टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट छलफल शुरू हुने जनाइएको थियो । तर अन्तिम समयमा आएर बैठक स्थगित भएको छ ।
प्रदेशसभाका सचिव कृष्णहरि खड्काद्वारा जारी सूचनामा ‘मिति २०७७ फागुन ५ गते बुधबार दिनको २ बजे बस्ने गरि निर्धारण गरिएको प्रदेश सभाको बैठक मा.सभामूखज्यूले विशेष कारणले गर्दा अर्को सूचना नभए सम्मको लागि स्थगित गर्नु भएको व्यहोरा जानकारीको लागि निर्देशानुसार अनुरोध गर्दछु । नियम ६(३), प्रदेश सभा सचिव’ भनिएको छ ।
यसअघि पनि माघ १९ गते २ बजेका लागि बोलाईएको बैठक विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको थियोे ।