आजबाट एमिकस क्युरीकाे बहस शुरु
काठमाडौं । संसद विघटनका विषयमा राय लिन सर्वोच्च अदालतले गठन गरेको एमिकस क्युरीले आजबाट राय दिँदैछ । संसद विघटनविरुद्ध परेका रिटहरुमा पक्ष–विपक्षका वकिलहरुको बहस सकिएपछि आजबाट एमिकस क्युरीको बहस सुरु हुन लागेको हो ।
एमिकस क्युरी सर्वोच्च अदालतको सहयोगी हो । कुनै मुद्दाका विषयमा राय लिनुपरेमा सर्वोच्चले एमिकस क्युरी गठन गर्ने गर्दछ । संसद विघटनका विषयमा राय लिन गठित एमिकस क्युरीमा बद्रीबहादुर कार्की, विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक छन् । उनीहरुले आजबाट आफ्नो राय दिनेछन् ।
एमिकस क्युरीको रायपछि सर्वोच्चले आफ्नो फैसला सुनाउने छ । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ तथा बहस हुँदै आएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका १३ रिट निवेदकका पक्षबाट जवाफी बहस हिजो सकिएको हो । रिट निवेदकबाट जवाफी बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपालको संविधानले प्रतिनिधिसभा विघटन गर्न विशेष अधिकार प्रधानमन्त्रीलाई नदिएको तर्क पेश गरे । वरिष्ठ अधिवक्ताद्वय रमणकुमार श्रेष्ठ र मुक्ति प्रधानले नेपालको संविधानमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभएको जिकिर दोहोर्याए ।
यस्तै अधिवक्ताहरु गोविन्द शर्मा बन्दी, सन्तोष भण्डारी, सरोजराज घिमिरेलगायत पाँच वर्षका लागि बनेको सरकार भएको हुँदा अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्नुपर्ने माग गरे । यसअघि, सरकारी पक्ष, सभामुख र प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानून व्यवसायीले बहस गरिसकेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । यही माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस सुरू भएको थियो ।