ओलीज्मको अन्तिम प्रहार नेपाली कांग्रेसमाथि हुनेछ : प्रचार विभाग प्रमुख खतिवडा
काठमाडौं । जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले ओलीज्मको अन्तिम प्रहार नेपाली कांग्रेसमाथि हुने तर्क गरेका छन् ।
नेकपा नेतृ रामकुमारी झाँक्री गिरफ्तारी प्रकरणसँग जोडेर केही प्रश्नहरु उठाउँदै नेता खतिवडाले यस्तो तर्क गरेका हुन् । रामकुमारी झाँक्रीको गिरफ्तारीले केही प्रश्नहरु उठाएको भन्दै उनले ओलीज्म सफल भयाे भने अन्तिम प्रहार कांग्रेसमाथि हुने र फासीवाद र लिवरल डेमोक्रेसी संगसंगै हिड्नै नसक्ने जिकिर गरेका छन् ।
यस्तो छ खतिवडाका केही प्रश्नहरु-
१. रामकुमारीहरुले सडकमा गणतन्त्रको लागि रगत पसिना बगाउँदा ओली-विद्या पार्टी केन्द्रीय कमिटीमा गणतन्त्रमा जानु हुँदैन भनेर नाेट अफ डिसेन्ट लेख्दै थिए । गणतन्त्रमा उनीहरु सत्तामा पुगेर रामकुमारीलाइ पक्राउ गर्ने कसरी भए ? के यसमा ओली-विद्या काे नियत मात्रै दाेषी छ कि कम्युनिस्ट पार्टीको संरचना र संस्कृति पनि दाेषी छ ?
२. धेरैले ओलीज्म नवफासीवाद हाे याे कुनै दिन सबैका लागि घातक हुनेछ भन्दा किन नेकपा पङ्क्तिले पत्याएन । कमरेड घनश्याम, याेगेशजस्ता मित्रहरुले मन्त्री खाने लाेभमा ओलीज्मलाई आफैंले प्रेरित गर्नु भाकाे हैन ?
३. फासीवादले जहिल्यै विराेधीहरुलाइ एक्ल्याएर प्रहार गर्छ । एकपछि अर्को गर्दै सबैलाई सक्छ । हिजाे ओलीले जसपालाइ सिध्याउन सांसद अपहरण गराउँदासम्म कमरेडहरु किन सन्चो मानेर बस्नु भाे ?
४. अहिले ओली फासीवादले देउवाकाे सहारा लिएकाे छ । नत्र संवैधानिक परिषदकाे काेरम नपुगेकाे बैठकबाट भएका नियुक्ति कांग्रेसका मान्छेले खान मिल्छ ? ओलीज्म सफल भयाे भने अन्तिम प्रहार कांग्रेसमाथि हुनेछ भनेर कांग्रेसले खै बुझेकाे ? फासीवाद र लिवरल डेमोक्रेसी संगसंगै हिंड्नै सक्दैनन ।
५. संयुक्त आन्दोलनकाे तयारीमा जति ढिलाे हुनेछ ओली-विद्याकाे फासीवाद त्यति नै बलियाे हुनेछ । फासीवादलाइ बलियाे हुने अवसर किन दिने ?
आगे सबै विपक्षी नेताज्युहरुकाे मर्जी ।