अब ओलीकाे प्रतिगमन हार्ने पक्का भयाे : नेतृ झाँक्री
काठमाडौं । प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेसँगै उनले ओलीको प्रतिगमन हार्ने पक्का भएको प्रतिक्रिया दिएकी छिन् ।
राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको हो । रिहा भएपछि झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताइन् ।
अहिलेको लोकतन्त्रिक व्यवस्थाका लागि आफूहरू लडेको र आगामी दिनमा पनि लड्ने भन्दै झाँक्रीले संविधानको धज्जी उडाउने र बिधीलाई नमान्ने प्रवृतिको सधै विरोध गर्ने धारणा राखिन् ।
त्यस्तै उनले संवैधानिक राष्ट्रपति संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको र त्यसमा जाने व्यक्तिहरूको आलोचना गर्दा कुनै पश्चात्ताप गर्न नहुने बताइन् ।
उनले अब ओलीको प्रतिगमन हार्ने निश्चित भएको उल्लेख गरिन् ।
प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको बताएको छ । झाँक्री पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भएको थियो ।
नेकपाको दाहाल–नेपाल समूहकी झाँक्रीलाई प्रहरीले राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो ।