ओलीले अझै पनि अटेर गरे सिंहदरबार र बालुवाटार घेर्ने आमसभा हुन्छ : प्रचण्ड
काठमाडाैं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि अटेर गरिरहे सिंहदरबार र बालुवाटार घेर्ने लगाएत ठूला आन्दोलन हुने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभाको सम्बोधनमा प्रचण्डले प्रतिगमन, निरंकुशता र लोकतन्त्रको हत्या गर्ने केपी ओली चरित्र जनताले बुझिसकेकोले जरुरी पर्यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुने बताए ।
उनले आफू स्टेजमा रहँदा सभामा ५ लाख सहभागी भएको एसएमएस आएको उल्लेख गर्दै त्यो आफ्नो अनुमान नभएको प्रस्ट पारे । नारायणहिटी दरबार संग्राहलयअगाडि २३ गते केपी ओली समूहले गरेको सभा सारा राज्यकोषको दुरुपयोग गरे पनि उत्साहजनक नभएको उनको भनाई थियो ।
अध्यक्ष प्रचण्डले ७० प्रतिशत बहुमत रहेको पक्षको आवाज नसुन्ने तर केपी ओलीले गएर धम्क्याउने बित्तिकै लत्रिने व्यवहार नदेखाउन निर्वाचन आयोगलाई चेतावनी दिए। उनले निर्वाचन आयोगलाई खुट्टा नकमाई विधि सम्वत ढङ्गबाट निर्णय गर्न पनि आग्रह गरे ।
प्रचण्डले लोकतन्त्र ल्याउन, संविधान निर्माण गर्न र गणतन्त्र र सङ्घीयतामा मुलुकलाई अघि बढाउन नेतृत्व दिएको पार्टी काँग्रेसलाई समेत आफ्नै नेतृत्वमा बनेको संविधानको हत्या हुँदा हेरेर नबस्न आग्रह गरे ।