निर्वाचनबारे ध्यानाकर्षण गराउन प्रधानमन्त्री ओली आयाेग जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार आफैं निर्वाचन आयोग जाने भएका छन् । निर्वाचनबारे ध्यानाकर्षण गराउन उनी आयोग जान लागेका हुन् । बिहान ११ बजे ओली आयोग जाने तयारी छ ।
आयोगमा उनले आयोगका पदाधिकारीसँग निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्ने बताइएको छ ।
आयोगले यसअघि नेकपाका दुवै समूहका नेतृत्वहरुलाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।
यसअघि विभाजित नेकपाको दाहाल-नेपाल समूहका शीर्ष नेताहरुसहित पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायतका नेताहरू आयोग पुगिसकेका छन् ।
प्रम ओली भने पहिलोपटक निर्वाचन आयोग जान लागेका हुन् । ओलीले सार्वजनिकरुपमा तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भाषण गर्दै आएका छन् ।
निर्वाचन आयोगले नियमतः ९० दिनभित्र चुनावी कार्यक्रम सार्वजनिक गर्नुपर्नेमा बैशाख १७ गतेको लागि अब मुश्किलले ८१ दिन बाँकी छ । आजदेखि बैशाख २७ गतेको लागि समेत ९० दिनको म्याद घर्किइसकेको छ ।
अदालतमा भने प्रधानमन्त्रीका प्रतिनिधिहरुले बहस लम्ब्याउने प्रयास गरिरहेका छन् । यता प्रम ओलीले भने निर्वाचन कार्यक्रम अगाडि बढाउन आयोगलाई दबाव दिइरहेका छन् । मंगलबार चुनावका कार्यक्रमलगायत विषयमा आयोगको ध्यानाकर्षण गराउन ओली आयोग पुग्न लागेको ओली निकट स्रोतले जनाएको छ ।