काँग्रेस बरिष्ठ नेता पाैडेल पनि पछि हटे

निरन्तर न्यूज
२७ माघ २०७७, मंगलवार १०:५८

काठमाडौं । नेपाली कांग्रेसको अनिर्णयको कारण प्रतिनिधिसभाविरुद्धको संयुक्त आन्दोलन वीरबलको खिचडीजस्तो बनेको छ ।

कांग्रेस एक्लै आन्दोलनको पक्षमा जाने पक्षमा दृढ देखिन थालेको छ । अन्य दलहरु भने एक्लाएक्लै आन्दोलनमा जाँदा खासै उपलब्धि हासिल नहुने निष्कर्ष निकाल्दै संयुक्त आन्दोलनको पक्षमा देखिएका छन् ।

यसअघि कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल संयुक्त आन्दोलनको पक्षमा देखिएका थिए तर, आफ्नै समूहका नेताहरु संयुक्त आन्दोलनको पक्षमा नउभिएपछि उनी पनि पछि हटेका छन् ।

यसबीचमा उनले अरु दलहरु कांग्रेसको नेतृत्वमा आए कांग्रेस संयुक्त आन्दोलनको पक्षमा उभिनुपर्ने अभिव्यक्ति दिँदै आएका थिए । पछिल्लो समय कांग्रेसभित्रका पौडेल खेमा नेताहरु समेत संयुक्त आन्दोलनको पक्षमा नदेखिएपछि उनी पनि हच्किएका हुन् ।

यसबीच सभापति शेरबहादुर देउवा लाई भेट्दै विभाजित नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले प्रतिनिधिसभाको पुनःस्थापनापछिको सरकारको नेतृत्व कांग्रेसलाई दिने प्रस्ताव समेत राखेका थिए । यो प्रस्तावले पनि कांग्रेसमा कुनै प्रभाव परेको छैन ।

प्रतिनिधिसभा पुनःस्थापना कि निर्वाचन भन्नेमा कांग्रेसमा विवाद छ । यसले प्रधानमन्त्री केपी ओली समूहलाई सहज बनाएको छ । उता, संयुक्त आन्दोलनको विरुद्धमा भने कांग्रेसभित्र समान बुझाई बन्दै गइरहेको छ ।

यसले आन्दोलनरत समूहहरुलाई धक्का लागेको छ । यसबाट ओलीको असंवैधानिक कदमलाई नै सहयोग पुगिरहेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*