नेकपा धरानका नेता जसपा प्रवेश
धरान । नेकपा धरान नगर कमिटिका प्रचार विभाग प्रमुख तारा लामगादे पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
आइतबार धरानमा आयोजित एक कार्यक्रममा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जाेङ लगायत नेताहरुले लामगादेलाई पार्टीमा स्वागत गरेका छन् ।
साे अवसरमा बाशु पोखरेल, शेरबहादुर बिक, धनबहादुर बिक, तुलबहादुर बिक, दिलमाया बिक लगायतका नेकपाका कार्यकर्ताहरू जसपामा प्रवेश गरेका थिए ।
जसपामा प्रवेश गरेपछि पत्रकारितामा समेत सक्रिय रहँदै आएका लामगादेले नेकपाले जनयुद्धकालिन मुद्दा छोड्दै गएको बताए ।
उनले २२ वर्षदेखि एउटै पार्टीमा बस्दा समेत मूल्यांकन नभएको बताए । उनले भने, ‘२२ वर्षदेखि एउटै पार्टीमा रहँदा खासै मूल्यांकन भएन, उल्टै हाम्रा विषय र मुद्दालाई थिचियो । यो मेरो निर्णय आकस्मिक सरप्राइज हो ।’
क्रिष्टियन पत्रकार संघका केन्द्रीय अध्यक्षसमेत रहेका लामगादे महाप्रतिवाद साप्ताहिकका प्रधान सम्पादक हुन् ।
उनी धरान उपमहानगरको दलित विकास समितिका सचिव पनि हुन् । उनी २०५८ सालदेखि तत्कालिन माओवादीमा लागेर काम गर्दै आएका थिए ।