शिक्षक तथा वुद्धिजीवीसँग तर्सने ओलीले हनुमान र अन्धभक्त मात्रै मन पराउँछन : प्रचण्ड

निरन्तर न्यूज
२६ माघ २०७७, सोमबार १७:५५

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली हाल रक्षात्मक अवस्थामा पुगेकाे बताएका छन् ।

नेकपा ओली समूहले गत माघ २३ गते काठमाडाैंकाे नारायणहिटी दरबार संग्रहालय अगाडि आयोजना गरेकाे आमसभामा ३५ हजार मानिस पनि सहभागी नभएकाे जिकिर गर्दै अध्यक्ष प्रचण्डले केपी ओली रक्षात्मक अवस्थामा पुगेकाे बताएका हुन् ।

अध्यक्ष प्रचण्डले सोमबार काठमाडौंमा आफूनिकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनमा याे कुरा बताएका हुन् ।

धाकधक्कु लगाउँदा समेत जनताले ओलीलाई साथ नदिएको भन्दै उनले भने, ‘ओली रक्षात्मक अवस्थामा गइसके, उनीहरुको सुरक्षा निकायले पनि ३५ हजार बढी थिएनन् भनेपछि गाली झगडा शुरु भएको छ ।’

माघ २८ मा काठमाडौंमा एकताबद्ध जनप्रदर्शन गरिने भन्दै उनले संसद विघटन गरेर प्रतिगमनको बाटो रोजेपछि केपी ओली हार्न पुगेको बताए ।

शिक्षक तथा वुद्धिजीवीहरूसँग तर्सने गरेको भन्दै प्रचण्डले प्रधानमन्त्री ओलीले आफूले जे भन्यो त्यही मान्ने हनुमान र अन्धभक्त मात्रै मन पराउने व्यक्ति भएको आरोप लगाए ।

केपी ओलीले शिक्षकलाई पार्टी संगठनमा राख्ने गरी बनाउन हुन्न भने पनि अहिले संगठन विस्तारका नाममा राख्न थालेको पनि उनले बताए ।

सोही कार्यक्रममा अर्का अध्यक्ष माधव नेपालले अहिलेको संघर्ष व्यक्ति केपी ओलीसँग नभई ओली प्रवृत्तिविरुद्ध रहेकाे बताए ।

ओलीमा पञ्च रवैया कायम रहेको भन्दै उनले ओलीलाई ‘नेकपा ओली बा’ पार्टी खोल्न सुझाव दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*