संयुक्त आन्दोलन गरौं, ओलीले एक हप्तामा घुँडा टेक्छन् : डाक्टर भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ओली प्रतिगमनका विरुद्ध संयुक्त आन्दोलन गर्न सके ओलीले एक हप्ताभित्र घुँडा टेक्ने उद्घोष गरेका छन् ।
सरकारको असंवैधानिक कदमहरुविरुद्ध धनकुटामा शनिबार आयोजित विरोधसभामा बोल्दै संसद विघटनको विरोधमा संयुक्त आन्दोलन गर्न आव्हान गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सबै दल र नागरिक समाजलाई मतभेद बिर्सेर आन्दोलनमा आउन अपिल पनि गरे ।
उनले भने, ‘कांग्रेस, नेकपा माधव-प्रचण्ड पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी, नागरिक समाज सबै मिलेर एउटा आन्दोलनको आँधी बेहरी सिर्जना गर्यौं भने एक हप्ताभित्र केपी ओलीले घुँडा टेक्छन् ।’
ओली प्रतिगमनको लागि लामो समय लड्नुनपर्ने उनको निष्कर्ष थियो । ‘ओलीको प्रतिक्रान्ति सच्याउने २०६२/०६३ मा जस्तो १९ दिन आन्दोलन गर्नुपर्दैन,’ उनले भने ।
ओलीको प्रतिगामी कदमलाई घुँडा टेकाउन सडक संघर्ष नै उपयुक्त विकल्प रहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रा मतभिन्नता छाडेर सात दिन सडक ठप्प पारौं, यो प्रतिक्रान्ति सुल्टिन्छ, हामी सही ट्रयाकमा जान्छौं ।’
नेपाली कांग्रेसका केही केन्द्रीय नेताको अलमलका कारण आन्दोलन पनि अलमलिएको बताउँदै उनले कांग्रेसका तल्लो तहका नेता तथा कार्यकर्ताले ओलीको प्रतिगमनविरुद्ध आवाज उठाइरहेको स्मरण गराए । ‘कांग्रेस नेताहरू आन्दोलनमा नआएर के जोखाना हेरेर बसिराख्नु भएको छ ?’ उनले भने, ‘लोकतन्त्र गयो त सबैथोक गयो, २००७ सालदेखि लोकतन्त्रका लागि लडेको कांग्रेस यस्तो बेलामा चुप लागेर बस्न मिल्छ ?’
आन्दोलनलाई निर्णायक बनाउने हो भने नेकपाको दाहाल-नेपाल समूहले पनि ओलीसँग निर्णायक सम्बन्ध विच्छेद गर्न पनि उनले आग्रह गरे । उनले अहिलेको आन्दोलन व्यक्तिभन्दा पनि प्रवृत्तिविरुद्ध भएको स्पष्ट पारे ।
उनले भने, ‘सबै नेताहरूलाई आत्मालोचक बन्न र विगतका गल्तीकमजोरीबाट सिक्न विशेष आग्रह गर्दछु ।’