नारायणहिटीबाट प्रधानमन्त्री ओलीको उद्घोष: ‘चुनाव हुन्छ हुन्छ हुन्छ’ (के-के भने सम्बोधनमा)
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले जुनकुनै हालतमा तोकिएको मितिमा चुनाव हुने उद्घोष गरेका छन् ।
आज दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडि आयोजित कार्यक्रममा बोल्दै उनले सरकारमै बसेर भाँजो हालेर काम गर्न नदिएका कारण अस्थीरतालाई चिर्न जनताका माझमा ताजा जनादेशका लागि जानुपर्ने आवश्यकता रहेको बताउँदै उनले चुनाव हुँदैन कि भन्ने भ्रम फिँजाइएको कारण त्यस्मा विश्वास नगर्न समेत आग्रह गरे ।
उनले आमसभालाई सम्बोधन गर्दै भने, ‘मूल पार्टी कुन हो भनेर अब पनि सोध्नुपर्छ र ?’ ‘अरुलाई काठमाडौंका हरेक चोक ठूलो हुन्छ, हामीलाई हरेक ठाउँ सानो हुन्छ । अब पनि कुन पार्टी आधिकारिक भन्नेलाई कठैबरा मात्रै भन्न सकिन्छ,’ नेकपालाई सर्वोच्च पार्टी दाबी गर्दै उनले थपे, ‘यही हो मूल पार्टी। कम्युनिष्ट पार्टीको मात्रै होइन यो देशको मूल पार्टी हो ।’
देशको रक्षा गर्ने, सार्वभौमसत्ता, स्वाधिनताको रक्षा गर्ने, लोकतन्त्रका लागि ७ दशकभन्दा बढी समय बलिदान दिएको इतिहास बोकेको र वर्तमानको हिसाबले ‘समृद्ध नेपाल सुखी नेपाली’को लागि पार्टी आफ्नै लयमा भएको बताउँदै उनले थपे, ‘आजबाट त्यो भ्रम वा अन्यौलमा नपर्ने यो फैसला आजैबाट भयो ।’
संसद विघटनको विरोधमा हिजो प्रचण्ड नेपाल पक्षले गरेको आमहड्तालप्रति कटाक्ष गर्दै ओलीले प्रश्न गरे, ‘नेपाल बन्द गरी गरिबको पेट मारेर श्रमजीवीलाई खेदेर, तरकारी फ्याँकेर, ट्याक्सीवालालाई जलाएर पनि कहीँ क्रान्ति हुन्छ ? सर्वहारा पार्टी त्यस्तो हुन्छ ?’ उनले अगाडि थपे, ‘गरिबको नोक्सानीको क्षतिपूर्ति सरकारले हेर्छ । सरकारले व्यहोर्छ । ढुक्क भए हुन्छ । गरिबलाई हेर्ने सरकार छ । जनतालाई माया गर्ने सरकार छ । शान्ति मन पराउने सरकार छ । त्यसकारण जनता ढुक्क हुनुहोस् ।’
‘अब शाकाहारी आन्दोलनले हुँदैन’ भनेर प्रचण्डले दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले भने ‘रक्सी आन्दोलन गर्ने दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन । अब सधैँ शान्तिपूर्ण नेपाल रहन्छ । नरभक्षी आन्दोलन चलाउँछु भनेर नसोचे हुन्छ ।’
‘आजको हाम्रो भेलालाई प्रभाव पार्न बन्द गरिएको, तर्साउन खोजिएको, कतिपय ठाउँमा बम राखेर विप्लवको नाम लेख्ने काम समेत भएको थाहा भयो। आफ्नो कुकर्मको जिम्मा लिन नसक्ने अनि क्रान्तिकारी ठूला कुरा गर्ने ?’ यस्ता प्रयासले नरोकिने बताउँदै उनले भने, ‘जब जनताको सागर उत्रिन्छ तब त्यो भेललाई कसैले छेक्न सक्दैन । समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई सफल बनाउन लागिपर्नेछौँ । भनिरहनुपर्ला जस्तो लाग्दैन ।’
‘पूर्वाधार निर्माणदेखि हरेक तहतप्का र क्षेत्रमा सरकारले निरन्तर काम गरिरहेको छ। यही सरकारले अब सबै काम गर्छ । सरकार नयाँ ढंगले अघि बढ्छ अब । हिजो द्वन्द्व भएको बेलामा सबै पक्ष तहसनहस र दुख दियो । लडाकुहरु जसलाई जनवाद आउने सपनासहित युद्धको मैदानमा होमियो उनीहरु पीडित छन् । जनताको सुरक्षाको लागि काम गर्दा उनीहरुले सहादत प्राप्त गर्नुपर्यो । जुनसुकै कारणले हिजो पीडित भएकाको कामका लागि सरकारले अब उचित प्रबन्ध गर्नेछ । सबै प्रकारका व्यवस्था अब सरकारले मिलाउनेछ । अलमलमा परेकालाई सम्झाएर अलमलबाट बुझाएर भ्रष्टाचारमुक्त बनाइछोड्ने छ,’ ओलीले भने ।
उनले आयोगहरु गठन र तिनमा गरिएका नियुक्तिको विषयमा बोल्दै थपे, ‘आयोगहरु बन्ने वा जनताको काम गर्ने वित्तिकै नेपाल बन्द गर्ने, पिछडिएका वर्ग, क्षेत्र, जाति, भाषा, लिङ्ग, पेशाको लागि काम नै गर्न नदिने, जनताको लागि काम गर्ने कस्तो षड्यन्त्र चिरेर आयोग बनायौँ यो सरकार ५ वर्षका लागि हो चलाऔँ भन्दा पनि ‘केपी ओली हटाउनुपर्छ’ भन्दै देशलाई भड्खालोमा हालेर जनतालाई आफ्नो स्वार्थ र महत्वकांक्षाका लागि लागिरहनुभएको छ ।’
‘लोकतन्त्रलाई ठीक ढंगले चल्न नदिएको पंगु अवस्थामा संसद पुर्याएर किनबेच समिकरणको राजनीति गर्न थाल्नुभयो । बहुमतको सरकार ढालेर जोडजामको सरकार ढाल्नुभयो । त्यसकारण मैले काम गर्नै नपाउने अवस्था भएपछि अस्थिरता होइन ताजा जनादेश लिन जनताको अदालतमा जाऔँ,’ ओलीले आह्वान गरे ।
उनले दोहो-याएर भने, ‘अब देश चुनावतर्फ गयो । अब चुनावले फैसला गर्छ । कसको सरकार बन्ने चुनावले फैसला गर्छ । जनताको मत लिन जाँदा देश संकटमा पर्दैन । अब जनता बुझ्ने भइसके । जनता सचेत भइसके । धाकधम्की, डर, त्रासमा जनता अब अल्मलिने छैनन् । लोकतन्त्रतर्फ कर्के आँखा नलगाए हुन्छ ।
ओलीले भने, ‘संसद विघटन र यसको सिफारिसको विघटनबारे बहस हुनु एकदमै गलत छ ।’
बेलायतको उदाहरण दिँदै उनले दाबी गरे, ‘काम गर्न नपाउने अवस्था आयो भने प्रधानमन्त्रीले संसद विघटन गर्छ । हामीलाई काम गर्न नदिने व्यवधानको जवाफ चुनावबाट खोज्नुपर्छ । त्यसैले ताजा जनादेशका लागि जाने निर्णय गरेको हुँ ।’ युवाहरुलाई अनुरोध गर्दै उनले भने, ‘देशलाई सही बाटोमा लैजानुपर्छ । छल गर्नेहरुको भर नपर्नुहोस् ।’
लामो इतिहास देखेका बाआमालाई थाहा छ भन्दै उनले भने, ‘इतिहासमा कुनै सरकारले नगरेको काम हामीले गरेका छौँ । कोभिड १९ ले केही अप्ठेरो पारेतापनि तर कोभिड १९ सँगै अझ चौतर्फि विकासको काम हामी गर्दैछौँ ।’
हिंसा भड्काउने प्रयास हुँदापनि त्यस्ता हिंसा भड्काउन खोज्नेविरुद्ध एकजुट हुन आग्रह गर्दै उनले भने, ‘लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौँ । मानिसहरु भ्रममा नपरे हुन्छ ।’
उनले २-४ हजार मानिस लिएर प्रचण्ड समूहले लल्कार्ने काम गरेको भन्दै सडकमा आउनुपरेको बताए । अन्त्यमा उनले आफूहरुको कार्यक्रमका कारण प्रभाव परेकोमा क्षमा समेत मागे । लाेकपथबाट साभार गरिएकाे ।