एकताबाट भागेर ओलीले कम्युनिष्ट आन्दोलनलाई धोका दिए : याेगेश भट्टराई

निरन्तर न्यूज
२३ माघ २०७७, शुक्रबार १७:२०

धादिङबेसी । विभाजित नेकपाको दाहाल-नेपाल समूहका स्थायी समिति सदस्य योगेश भट्टराईले केपी ओली पार्टी एकताबाट भागेको आरोप लगाएका छन् । नेकपा धादिङले शुक्रबार जिल्ला सदरमुकाम धादिङबेसीमा आयोजना गरेको विरोधसभामा बोल्दै नेता भट्टराईले एकताबाट भागेर ओलीले कम्युनिष्ट आन्दोलनलाई धोका दिएको बताए ।

उनले आधिकारिक नेकपा आफ्नो समूह भएको र निर्वाचन आयोगले कसैको दबावमा नभई ऐनअनुसार विवाद निरुपण गर्नुपर्नेमा जोड दिए । उनले सूर्य चिन्हमा आँखा लगाउने दुस्साहस नगर्न चेतावनी दिए ।

नारायणहिटी केपी ओलीको अवसानको साक्षी बन्ने उनले जिकिर गरे । ‘जसरी डोनाल्ड ट्रम्प एउटा झोला बोकेर ह्वाइटहाउसबाट निस्कनुपर्‍यो, ओलीको पनि त्यही हालत हुनेछ, नारायणहिटी केवल साक्षी मात्र बन्नेछ,’ उनले भने, ‘जसरी ट्रम्पले नियुक्त गरेका वकिलहरुले पनि उनलाई बचाउन सकेनन्, अहिले ओलीका वकिलहरुले पनि उनलाई बचाउन सक्नेछैनन् ।’

नेता भट्टराईले आई लभ यु ओली भन्दै मण्डले प्रवृत्ति देखाइएको बताए । उनले कम्युनिष्टहरुको दर्शन भक्ति दर्शन बनाउने प्रयास ओली समूहले गरेको बताए । ‘केपी ओली अन्त हुँदा ओली मात्र होइन, ओली प्रवृत्ति नै अन्त्य हुन्छ, आइ लभ यु केपी ओली भन्ने मण्डले प्रवृत्ति यो देशबाट सदाका निम्ति अन्त्य हुनेछ,’ उनले भने, ‘कम्युनिष्ट पार्टीको दर्शन भौतिकवादी दर्शन हो कि भक्ति दर्शन हो ? आज केपी ओलीको जयजयकार भइरहेको छ, खुट्टा धुन थालिएको छ ।’

उनले हिजोका राजा महाराजाले जस्तो केपी ओलीको पोस्टर टाँग्न थालिएको बताए । उनले माघ २८ गते काठमाडौंमा विशाल जनसभा गरेर केपी ओलीलाई जनताको शक्ति देखाउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*