अहिलेको समयमा निर्वाचन हुनै नसक्ने : बाबुराम भट्टराई
चितवन । जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताएका छन् । जसपा चितवनले बुधबार चितवनमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले निर्वाचन घोषणा गरिए पनि हुने सम्भावना भने नरहेको विचार व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री डा भट्टराईले सरकारले लोकतन्त्रमाथि प्रश्न उठाउँदै संविधानको मर्मविपरीत काम गरेको आरोप लगाउँदै जनताको बलबाट भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुन सक्ने बताए । उनले भने, ‘हामी नजितेसम्म लड्छौँ । बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ, राष्ट्रियतामाथि नै खतरा छ ।’ पार्टीले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलनको तयारी गरिरहेको जानकारी पनि उनले बताए ।
फरक प्रसङ्गमा उनले पार्टी एकताको प्रक्रिया केही समयमा नै टुङ्गाएर अघि बढ्ने योजनासहित अघि बढेको जानकारी दिए । ‘पार्टीलाई वैकल्पिक शक्तिका रुपमा विकास गर्ने योजनाका साथ हामी लागेका छौं’, उनले भने ।