ओलीको सरकारबाट बर्हिगमन र संसदको पुनःस्थापनाको विकल्प छैन : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओलीको सरकारबाट बर्हिगमन र संसदको पुनःस्थापनाको विकल्प नरहेको बताएका छन् ।
सोमबार राष्ट्रिय जनमोर्चाले काठमाडौंमा आयोजना गरेको संसद बिघटन र प्रतिगमनको खतरा बिषयक अन्तर्क्रियामा यादवले मुलुकलाई लोकतान्त्रिक लिगमा ल्याउन सरकारबाट बर्हिगमन र संसदको पुनःस्थापनाको विकल्प नरहेको बताएका हुन् ।
उनले अहिले मुलुकलाई प्रतिगमनको बाटोमा लैजान नदिन र संघीयताको रक्षा गर्न एकताबद्ध हुनुपर्ने बताए ।
अध्यक्ष यादवले नेकपाभित्रको विवादकै कारण संसद विघटन भएको र संविधान नै खतरामा परेको जिकिर गरे । प्रधानमन्त्रीजस्तो कार्यकारी व्यक्ति संविधानअनुसार चल्नुपर्नेमा राजनीतिक खेलबाट चलेको उनले आरोप लगाए ।
यादवले संविधानको रक्षा गर्दै यसमा नपुगेका बिषयहरुलाई थप गर्नुपर्ने धारणा राखे ।
त्यस्तै कांग्रेस नेता रमेश लेखकले जनताबाट दुईतिहाई मत ल्याएपनि नेकपाले मुलुकलाई स्थीरता दिन नसकेको बताए । उनले कम्युनिष्ट सरकारले नै संविधान भत्काउने काम गरेको तर्क गरे ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले दुइतिहाईको दुरुपयोग भएको बताए । दलहरु राष्ट्र र जनताका लागि नभएर पद र सत्ताका लागि लडेकाले अहिलेको अवस्था आएको उनले बताए ।
कार्यक्रममा सहभागी अन्य नेताहरुले संसद विघटन संगै प्रतिगमनको खतरा रहेकाले यसका विरुद्ध एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए ।