बागमती प्रदेशसभाकाे तेस्राे वार्षिकाेत्सव सम्पन्न
हेटाैँडा । बागमती प्रदेशसभाको तेस्रो वार्षिकोत्सब कार्यक्रम आज हेटौंडामा भएको छ ।
कार्यक्रमको उद्घाटन् गर्दै यस प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले प्रदेशसभाले आगामी दिनमाहरुमा पनि आफ्नो कार्यप्रणालीलाई व्यवस्थित गरेर काम गर्नका लागि आग्रह गर्नुभएको छ ।
प्रदेशका महत्वपुर्ण विषयमा विधी निर्माण गरेर प्रदेशको सम्वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि आग्रह गर्नुभयो । प्रदेश सरकारले जनतालाई केन्द्रबिन्दुमा राखेर जनताप्रति भरोसा दिलाउने विकासको पूर्वाधार र आर्थिक समृद्धि ल्याउने कार्यमा सबै दलहरुसँग सहकार्य गरेर अघि बढ्न आवश्यकता रहेको बताउनुभयो । उहाँले संघीयतालाई दरिलो तुल्याउन दलहरुले आपसी वादविवादलाई त्यागेर जनता र राष्ट्रप्रति जवाफदेही हुन सकेमात्र प्रजातन्त्रको भविष्य उज्वल हुने बताउनुभयो ।
यसैगरी बागमती प्रदेश सभाका ७ जना सदस्य सम्मानित भएका छन् । प्रदेशसभाको बैठकमा नियमित उपस्थित हुने ७ जना सदस्य सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा प्रदेश सभाका सदस्यहरु क्रमशः गोमा भुर्तेल, बसन्तप्रसाद मानन्धर, चन्द्रबहादुर लामा, सीता अधिकारी, पार्वती शिलवाल, रमेशप्रसाद पौडेल र नरोत्तम वैद्य रहेका छन् । उहाँहरुलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दोसला र प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
यसैगरी, सोही कार्यक्रममा प्रदेश सभा सचिवालयका कर्मचारीहरुमध्ये पूर्व सचिव रामशरण घिमिरे, अधिकृतहरु शान्तप्रसाद भुजु, सुन्दर पन्त, मीना तिमल्सिना, दामोदर घिमिरे र उपमर्यादा पालकहरु निराजन ढकाल, लक्ष्मी विष्ट र प्रहरीतर्फ योगेन्द्र थापा मगरलाई पनि सम्मानित हुनुभएको छ । उहाँहरुलाई पनि प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले नगद, दोसला र कदर पत्रसहित सम्मान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।