जब मन्त्री थापाले श्री ५ काे सरकारकाे तर्फबाट स्वागत भने ….
सुर्खेत । नेकपा ओली समूहका नेता, पूर्वमाओवादी नेता तथा खानेपानी मन्त्री मणि थापाकाे एउटा भिडियाे अहिले सामाजिक सञ्जालमा भाइरल भएकाे छ ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्न शनिबार सुर्खेत पुगेका थिए मन्त्री थापा । उनलाई कार्यक्रममा विशेष सम्मानको साथमा राख्दै अन्तिममा मात्र भाषण गर्न उद्घोषकले बोलाए ।
तर, सम्बोधनका लागि पोडियममा पुगेका मन्त्री थापा सुरुमै चिप्लिए । उनले आफ्ना कार्यकर्ता एवम् उपस्थितलाई सम्बोधन गर्ने क्रममा श्री ५ को सरकारको तर्फबाट स्वागत गरे ।
उनले भने, ‘सुर्खेतका आदरणीय जनसमुदायहरु, म तपाईंहरू सबैलाई नेकपाको स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा स्वागत गर्न चाहान्छु ।’
पछि सहयोगीले सम्झाइदिएपछि मात्र उनले नेपाल सरकारकाे तर्फबाट भने ।
राजतन्त्र समाप्त भएकाे डेढ दशक भन्दा बढी समय बितिसकेकाे बेला पनि मन्त्री थापाले यसरी बाेलेकाे याे भिडियाे अहिले भाइरल भइरहेकाे छ ।
नेकपा विभाजन पछि मन्त्री बनेका थापा पछिल्लो १ महिनादेखि अत्यन्त व्यस्त भएका छन् । मन्त्री भएपछि व्यस्त हुनु स्वभाविक नै हो ।
मन्त्रालयको काममा व्यस्त हुनुपर्ने उनी लगायत अन्य मन्त्रीहरू हाल विभिन्न जिल्लामा आयोजना हुने नेकपा ओली समूहकाे भेलामा पुग्न थालेका छन् ।
राज्यकोषको दुरुपयोग गरी आफ्नाे पार्टीको काममा मन्त्रीहरु नै लागेको भन्दै यस प्रकारको शैलीको आलोचना समेत गरिएको छ ।