दाङमा एकैदिन १४ सय जना जसपामा प्रवेश, डाक्टर भट्टराईले गरे स्वागत

निरन्तर न्यूज
१८ माघ २०७७, आईतवार १२:२७

दाङ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद पुनः स्थापनाकाे विकल्प नरहेकाे बताएका छन् ।

संसद विघटनविरुद्ध शनिबार दाङमा आयोजित विराेध सभालाई सम्बोधन गर्दै डा. भट्टराईले संसद पुन: स्थापना नभए देश खतरामा पर्ने बताए ।

उनले अब दुईवटा विकल्पबाट मात्र संसद पुनःस्थापना गर्न सकिने बताए । “संसद जसरी पनि पुन: स्थापना हुनुपर्छ, जसका लागि अब दुईवटा मात्र विकल्प छ,” उनले भने, “एउटा अदालतबाट र अर्को जनताले चुनेको हामी प्रतिनिधिले सभामुखद्वारा संसद बोलाएर ।”

यदि संसद पुन: स्थापना नभए प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा निर्वाचन नगराउने उनकाे दाबी छ ।

“संसद पुन: स्थापना भएन भने केपी शर्मा ओलीले बैशाखमा निर्वाचन गराउँदैनन्,” उनले भने, “जो साथीले निर्वाचन होला र भाग लिउँला भन्नुभएको छ, तपाईहरु भ्रममा नपर्नुस् ।” ओलीले आफूले हार्ने निर्वाचन नगराउने उनकाे भनाइ छ ।

उनले अहिले पनि संसदमा ८० प्रतिशत सांसद रहेको दाबी गर्दै अर्को सहमतिको सरकार बनाएर देशलाई समृद्ध र सुशासन दिनु पर्ने बताए ।

कतिपय साथीहरुले निर्वाचन हुन्छ, तयारी गरौँ भनेको भन्दै उनले निर्वाचन कसरी हुन्छ ? भन्ने प्रश्न गरे । “कतिपयले निर्वाचन हुन्छ भन्नुभएको छ, विशेष गरेर म कांग्रेसका साथीहरुलाई भन्न चाहन्छु प्रमुख प्रतिपक्ष भएर तपाईहरु ढुलमुले कुरा नगर्नुस्” उनले भने, “लोकतान्त्रिक पार्टी भन्नेले संसदको हत्या भएको टुलुटुलु हेर्न मिल्दैन ।”

उनले लोकतान्त्रिक ब्यवस्थामा संसदभन्दा माथि प्रधानमन्त्री नहुने भन्दै संसदमा सरकार बन्ने सम्भावना हुँदासम्म संसद विघटन गर्न नपाइने बताए ।

उनले प्रधानमन्त्रीले संसदको हत्या गरेको आरोप लगाउँदै देशलाई अस्थिरता तर्फ धकेलेको बताए । उनले केपी शर्मा ओली तनाशाहा बन्ने खोजे जनताले परास्त गर्ने चेतावनी दिँदै अब अस्थितरतलाई बचाउनका लागि जनता सचेत भएर लाग्नुपर्ने बताए ।

साे अवसरमा युवा संघका नेताहरू श्री रोका, मोतिलाल नेपाली, प्रेम जिसी जसपामा प्रवेश गरेका थिए । उनीहरुलाई डा. भट्टराईले नै स्वागत गरेका थिए ।

नेता भट्टराईले दाङमा १४०० जना कार्यकर्ताहरू जसपामा प्रवेश गरेको ट्विटरबाट जनाएका छन् ।

उनले लेखेका छन्, “दाङमा जसपाद्वारा ओली प्रतिगमनविरोधी प्रदर्शन तथा जनसभा ! युवा संघका नेता श्री रोका, मोतिलाल नेपाली, प्रेम ब जिसी लगायत १४०० नेता कार्यकर्ता नेका र नेकपा परित्याग गरी जसपामा प्रबेश !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*