संसद् बोलाएर ओलीलाई कारबाही गर्ने विकल्प अझै बाँकी : प्रचण्ड
धनगढी । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने विकल्प अझै बाँकी रहेको बताएका छन् ।
सुदूरपश्चिमको राजधानी धनगढीमा नेकपाको प्रचण्ड- नेपाल पक्षद्वारा आयोजित विरोधसभामा प्रचण्डले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन नभएको भए संसद् बैठक बोलाएर प्रधानमन्त्री केपी ओलीलाई कारबाही गरिसकिएको हुने बताएका हुन् । अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानमा रहेको व्यवस्था र लोकतान्त्रिक मान्यता अनुसार प्रतिनिधिसभा विघटनबारे फैसला गर्नेमा आफू विश्वस्त रहेको पनि बताए ।
सर्वोच्च अदालतमा यो मुद्दा हुँदैनथ्यो भने हामी सदन बोलाउँथ्यौं, संसद् बोलाएर केपी ओलीलाई कारबाही गर्ने अधिकार हामीसँग थियो, अध्यक्ष प्रचण्डले भने । प्रमुख प्रतिपक्षी काँग्रेस, जनता समाजवादी पार्टी लगायत सबैले प्रतिनिधिसभा विघटनको विरोध गरिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विकल्पको रुपमा सभामुखले संसद् बोलाउने र संसदको दुई तिहाईले ओलीले गरेको राष्ट्रघातका लागि कारबाही गर्ने तागत राख्ने टिप्पणी गरे ।