ताेकिएकै मितिमा निर्वाचन हुने प्रधानमन्त्रीकाे आश्वासन
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मितिमा निर्वाचन हुने भएकोले ढुक्क हुन आश्वस्त पारेका छन् । चितवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ मा चुनाव हुनेमा आश्वस्त पारेका हुन् ।
उनले भने, ‘केहीले चुनाव गराउनका लागि मिति तोकेकै होइन भनेर गलत हल्ला फैलाइरहेका छन् । ढुक्क हुनुस्, चुनाव तोकिएको मिति वैशाख १७ गते शुक्रबार र २७ गते सोमबार हुन्छ । त्यसको तयारीमा लाग्नुस् ।”
उनले वैशाखमा हुने निर्वाचनमा जनताको हितका काम गर्ने र विकासप्रमी उम्मेदवारलाई जिताएर पठाउसमेत मतदाताहरुलाई आग्रह गरेका छन् । उनले भने, “यहाँ भाषण गर्ने र अन्तै नाबी अन्तै जोडिएकाहरुलाई अब जिताउनु हुँदैन । विकासप्रेमीलाई नेतालाई जिताएर पठाउनुस् ।”
प्रधानमन्त्री ओलीले पार्टी फुट्यो भनेर पीर नगर्नसमेत कार्यकर्तालाई आश्वस्त पारेका छन् । उनले भने, “पार्टी फुट्यो भनेर पीर नगर्नुस् । पिलो निचोरेर शरीरको तौल कम हुँदैन । पार्टी एक ढिक्का छ । केही चित्त नबुझेकाहरु चोइटिएर अलग भएका हुन् ।”
भूमि सम्वन्धी समस्याकाे दिर्घकालिन समाधान
प्रधानमन्त्री केपी शर्मा ओली भूमिसम्बन्धी सबै समस्याको अब दीर्घकालीन समाधान हुने बताएका छन् । चितवनको जनसभालाई सम्बोधन गर्दै ओलीले अब जनताको समस्याहरुको दीर्घकालीन हल निकालिने बताए ।
भूमिसम्बन्धी समयस्या समाधानका लागि चितवनमा लोकप्रिय व्यक्तिलाई नै आफूले जिम्मा दिएको भन्दै ओलीले अब जनताको पक्षमा काम हुने बताए । जनताका समस्याहरु समाधानका लागि अहिलेको नेतृत्वको लागि परेको उनले बताए ।
प्रधानमन्त्री ओलीले अबको चुनावमा जनताको लागि, देशको लागि काम गर्ने भूमिपुत्रहरुलाई चुनेर पठाउन पनि आग्रह गरे । अहिले देशलाई निकास दिनका लागि चुनावमा जाने निर्णय भएको भन्दै उनले आफूहरु राष्ट्रहितको पक्षमा रहेको बताए ।