जब रामनारायण बिडारीले प्रधानमन्त्रीलाई हुतिहारा भने …..
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतभित्र सुनुवाइकै क्रममा एक वरिष्ठ अधिवक्ताले हुतिहारा भनेपछि प्रधानन्यायाधीशले उनलाई रोक्नु परेको छ । प्रतिनिधिसभा विघटनको विषयलाई लिएर जारी सुनुवाईमा पुगेका राष्ट्रियसभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले उक्त शब्द प्रयोग गरेका हुन् ।
उनी मस्यौदा समितिमा भएका छलफलबारे इजलासलाई जानकारी गराउन त्यहाँ पुगेका थिए । ‘मस्यौदा समितिको १५ जना र ५ जनाको समितिमा पनि म थिएँ,’ बिडारीले भने, ‘संविधानसभा अध्यक्षले प्रतिनिधिसभा विघटनको अधिकार राख्नुहुन्न है भनेर पटकपटक भन्नुभयो। हालका महान्यायाधिवक्ता अग्नि खरेलले कुनै हालतमा राख्नुहुन्न भनेर अडान राख्नुभयो।’
समितिको बैठकलाई सन्दर्भका रुपमा उठाउँदै अहिलेका महान्यायाधीवक्ता रहेका खरेलले कुनै पनि हालतमा विघटन गर्न पाउने अधिकार राख्न हुन्न भनेर अड्डी कसेको विगत उनले स्मरण गराए । ‘बरू रमेश लेखकले अलिअलि अधिकार राखौं भन्नुभएको थियो,’ उनले भने ।
बिडारीले प्रश्न गरे, ‘सर्वसम्मत भएको कुरालाई दिउँसै रात पार्नेगरी जिउँदै मार्ने ?’ । प्रतिनिधिसभा विघटन गर्नसक्ने विशेषाधिकार प्रधानमन्त्रीमा नरहेकोमा जनता र इजलास नै विश्वस्त भइसकेको उनले जिकिर गरे ।
उनले अगाडि थपे, ‘अन्तरराष्ट्रिय अभ्यासका कुरा गर्ने? लिखित संविधान होइन? लेखेको कुरा नमान्ने अनि अन्तराष्ट्रिय अभ्यास भन्ने?, नेपालको संविधानमा लेख्ने, भारतको संविधान देखाएर विघटन गर्ने, अनि बाहिरको अभ्यासको कुरा गर्ने?’
उनले देशको सर्वोच्च संसद, अदालत, प्रधानमन्त्री वा राष्ट्रपति नभएर संविधान रहेको तर्क गरे ।
‘हामीले संविधानमा सन्तुलन गर्न धारा ७६ र १०० मा ६ महिना लागेका थियौं। संसदले प्रधानमन्त्रीलाई दु:ख दिन्छ भनेर २ वर्ष अविश्वास आउन नदिन संसदलाई नियन्त्रण गरियो। अर्कातिर प्रमलाई नियन्त्रण गर्न संसद हुन्छ भनियो,’ उनले भने, ‘धारा समान छन्। एकले अर्कालाई निष्क्रिय पार्न सक्दैन। ७६ (१) ले विघटन गर्ने हो भने धारा १०० लाई ग्रहण लगाउने? १०० देखाउन मात्र बनाएको हो? जब प्रमको मनमा चसक्क हुन्छ भंग गरिदिने?’
बिडारीले प्रधानमन्त्री संविधान अनुसार चल्नुपर्ने बताउँदै संसद, राष्ट्र र जनतासँग खेल्न नपाउने तर्क गरे । उनले ओलीले संसदको सामना गर्न नसकेको तर्क गरे। उनले भने, ‘संसदको सामना गर्नुपर्यो नि। त्यति हिम्मत नभएको हुतिहारा, पार्टी चलाउन असफल र सरकार चलाउन असफल प्रधानमन्त्री…।’
उनी आफ्नै शैलीमा अगाडि बढ्दै थिए तब प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले रोक्दै भने, ‘वरिष्ठज्यू यति अपशब्द प्रयोग नगरम न।’