मूल्यवृद्धि नरोके जनकारबाही गर्ने नेकपा (बिप्लव)काे चेतावनी
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मूल्यवृद्धि नरोके जनकारबाही गर्ने चेतावनी दिएको छ ।
सरकारद्वारा प्रतिबन्धित उक्त पार्टीले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरेर सरकारले निम्न वर्गमाथि शोषण गरेको भन्दै त्यस्ता वस्तुहरुको मूल्य घटाउन माग गरेको छ ।
सो पार्टीको गण्डक ब्युरोले सोमबार जारी गरेको विज्ञप्तिमा जनताले दैनिक उपभोग गर्ने दाल, चामल, तरकारी, नुन, तेल, लत्ताकपडा तथा औषधी उपचारमा न्यून मूल्य कायम गरी मजदुर वर्गलाई सहज र सर्वसुलभ बनाउन माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न खाले अवसरवादलाई परास्त गर्दै आन्दोलनको नेतृत्व गर्दै जनताको पक्षमा अगाडि बढिरहेको अवस्थामा दलाल प्रतिक्रियावादी राज्यसत्ताका मतियारहरुद्वारा निम्न वर्गमाथि गरिरहेको शोषण र दमनको भण्डाफोर गर्दै जनताको दैनिक उपभोग्य वस्तुहरु दाल,चामल,नून,तेल,लत्ताकपडा, तरकारीका साथै औषधी उपचारको मूल्यमा सहज र सर्वसुलभ बनाई न्यून तथा मजदुर वर्गलाई उपलब्ध गराउन सम्बन्धित सबैलाई चुनौतीसहित अनुरोध गर्दछ ।’
उक्त पार्टीले मजदुर वर्गको पक्षमा संघर्ष चलाइरहेको दाबी गर्दै पुँजीपतिहरुको सम्पत्तिलाई न्यून तथा मजदुर वर्गलाई बाँड्ने चेतावनी र आश्वासनसमेत दिएको छ । ‘नेकपा माओवादीले वर्ग संघर्ष चलाएकाले संघर्षको तगारो नबन्न जो कोहीलाई खबरदारी गर्दछ । यसका विरुद्ध आएमा जनकारबाहीको भागीदार बन्नेछ,’ पार्टीको गण्डक ब्यूरो ईञ्चार्ज गौरवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।