शान्तिपुर्ण प्रदर्शनमा बल प्रयाेग हुनुले सरकारकाे निरङ्कुस चरित्र उदाङ्गाे भयाे : नेकपा
नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार साँझ विज्ञप्ति प्रकाशित गर्दै नागरिक समाजले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारका तर्फबाट भएको बल प्रयोगको निन्दा गरेका थिए । उनले लोकतन्त्रको स्थापना र संविधान निर्माणमा नेपाली नागरिक समाजको ऐतिहासिक भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै सोमबार भएको बल प्रयोगले सरकारको निरङ्कुश चरित्र उदाङ्गो भएको आरोप लगाए ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘संविधान र लोकतन्त्रको रक्षाको निमित्त सङ्घर्षमा उत्रँदा गरिएको घोर दमनबाट सरकारको चरम अलोकतान्त्रिक चरित्र उदाङ्गो भएको छ ।’ नागरिक आन्दोलनले सञ्चालन गरेको सङ्घर्षप्रति आफ्नो पार्टीले सम्मान व्यक्त गर्दै घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
प्रदर्शनमा नागरिक समाजका अगुवा कृष्ण पहाडी, खगेन्द्र सङ्ग्रौला, पत्रकार नारायण वाग्ले, लेखक युग पाठक, सञ्जीव उप्रेतीलगायत सहभागी थिए ।