निर्वाचन तयारीकाे लागि बसेकाे बैठक प्रचण्ड-माधव समुह र जसपाद्वारा बहिष्कार
हेटाैँडा । नेपाल सरकारले आगामी वैशाख १७ र २७ गर्ने भनिएकाे प्रतिनिधिसभा चुनावका लागि मकवानपुर जिल्लामा मतदान केन्द्र र मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारीस गर्ने बारे आज छलफल गरिएकाे छ ।
जिल्लाका प्रहरी तथा प्रशासनका प्रमुख, स्थानीय तहका प्रमुख/उपप्रमुख र राजनैतिक दलसँग आवश्यक छलफलका लागि बाेलाइएकाे बैठकमा नेकपा माधव-प्रचण्ड पक्ष र जनता समाजवादी पार्टी मकवानपुरले उक्त छलफल बहिष्कार गरेकाे उक्त पार्टीले जनाएकाे छ ।
प्रधानमन्त्रीले चालेकाे कदम असम्बैधानिक भएकाे ठहर गर्दै संसद पुनर्स्थापनाकाे लागि सडक संघर्ष गरिरहेकाे पार्टीले निर्वाचनकाे तयारीकाे कुनैपनि प्रक्रियामा आफुहरु सहभागी नहुने भन्दै बैठक बहिष्कार गरिएकाे जसपाका नेता राजेन्द्र सिम्खडाले जानकारी दिए ।
त्यस्तै नेकपा प्रचण्ड-माधव पक्षका जिल्ला सचिवालय सदस्य एवम् संगठन विभागका सह-संयाेजक कमान सिं पाख्रीनले प्रधानमन्त्रीले चालेकाे कदमप्रति आफ्नाे पार्टीकाे गम्भीर असहमति रहेका भन्दै सडकबाट बिराेधमा रहेका छाैँ ।यस्ताे समयमा निर्वाचनकाे नाममा राज्यकाेषकाे दुरुपयाेग गरेर खर्च गर्नु उचित छैन र निर्वाचन सम्वन्धी कार्यमा असहयाेग हुन्छ भन्दै बहिष्कार गरेकाे पाख्रीनले बताए ।
जसपाकाे तर्फबाट सिम्खडा, सुरेन्द्र भट्टराई, नेकपा प्रचण्ड माधव समुहबाट पाख्रीन र तिलक अधिकारीले प्रतिनिधित्व गर्दै बैठक बहिष्कार गरेका हुन् ।
आजकाे छलफलमा मतदान केन्द्र तथा मतदान स्थल पुनरावलोकन समितिको बैठकले जिल्लामा एउटा मतदान केन्द्र र मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारीस गरेको हो । पुनरावलोकन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले जिल्लाको मनहरी गाउँपालिका–६ मा मतदान केन्द्र र मतदान स्थल थप गर्न सिफारीस गरेको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ मा कायम रहेका मतदान स्थलहरु मध्ये मनहरी गाउँपालिका–६ स्थित राष्ट्रिय मावि सुनाचुरीलाई टुक्रयाई राष्ट्रिय सरस्वती आधारभुत मावि बाल भञ्याङ्ग र राष्ट्रिय मावि सुनाचुरी कायम गर्न सिफारीस गरेको प्रजिअ रिजालले बताउनुभयो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ मा मकवानपुरमा १६४ मतदान स्थल र ३२४ मतदान केन्द्र कायम रहेका थिए । जिल्लामा साविकमा २ लाख ५५ हजार ६०४ मतदाता संख्या कायम रहेका थिए । जिल्ला निर्वाचन कार्यालय मकवानपुरकाे आयाेजनामा भएकाे बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्लाका १० वटै स्थानीय तहका प्रमुख/उपप्रमुखलगायत जिल्लामा कृयाशिल राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिको उपस्थिती थियो ।