नेपाल लोकतान्त्रिक पार्टी र जसपाबीच एकता
काठमाण्डाैँ । शिवलाल थापा मगर समूहको ‘नेपाल लोकतान्त्रिक पार्टी’ जनता समाजवादी पार्टीमा समाहित भएको छ ।
थापा पूर्व जनमुक्ति पार्टीका नेता हुन् ।
आइतबार ललितपुरको बालकुमारीस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा गरिएको छ ।
एकता घोषणासँगै जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक पार्टीबाट शिवलाल थापाले हस्ताक्षर गरेको एक विज्ञप्ती जारी गरिएको छ ।
जसपाले उठाउँदै आएको राजनीतिक मुद्दाप्रति सहमत हुँदै शिवलाल थापा समूहसँग एकता गरिएको उल्लेख छ ।
थापासँगै उनले आफ्नाे समूहको १५ जिल्लाको समितिका पदाधिकारी तथा सदस्यहरुलाई पनि जसपामा समाहित गराएका छन् ।
थापालाई जसपाले केन्द्रीय कार्यकारिणी समितिमा राख्नेछ ।
एकता घोषणा कार्यक्रममा जसपाका नेताहरु ठाकुर र यादवका साथै राजेन्द्र महतो, हेमराज राई, नवराज सुवेदी लगायतको उपस्थिति थियो ।
जसपाले मुद्दा मिल्ने ससाना समूहमा रहेका राजनीतिक दलहरुसँग एकता गर्दै आएको छ । थापा समूहसँग जसपाले करिब ५ महिनादेखि वार्ता गरेको थियो ।
हाल मात्र दुई दलबीच एकता सम्भव भएको हो । जसपामा नेत्रविक्रम चन्द विप्लवदेखि, नेकपासम्मका कम्युनिष्ट पार्टीहरु समेत नेताहरु एकीकृत हुँदै आएका छन् ।
केही समयपछि नै मोहन वैद्य नेतृत्वका केही केन्द्रीय नेताहरु जसपामा प्रवेश गर्ने स्रोतले जनाएको छ । हाल उनीहरुसँगको एकता वार्ता अन्तिम चरणमा छ ।