प्रचण्ड-नेपाल समूहले आज शक्ति प्रदर्शन गर्दै

निरन्तर न्यूज
९ माघ २०७७, शुक्रबार ११:२१

काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनमा उत्रिएको नेकपाको प्रचण्ड-नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ ।

काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाट समेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो । आजको प्रदर्शनमा एक लाखभन्दा बढी कार्यकर्ता उतार्ने समूहले दाबी गरेको छ ।

प्रचण्ड–माधव समूहले शुक्रबार बिहान ११ बजे काठमाडौं र ललितपुरका विभिन्न ९ स्थानबाट जुलुस निकाल्दै छ । त्यसका लागि पौने ११ बजे नै आ–आफ्नो आर्कमा जम्मा भइसक्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किने छन् ।

विभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ (प्रकाश) ले जानकारी दिए ।

जुलुसमा सहभागीहरुलाई पार्टीले तोकेका नारामात्र लगाउन निर्देशन दिइएको छ । प्रचण्ड–नेपाल समूहले संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी रहने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*