प्रतिनिधिसभा विघटनकाे विरोधमा मकवानपुर कांग्रेसकाे स्थानीय तहमा प्रदर्शन
हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले शनिबार जिल्लाका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोध गर्दै कांग्रेसले प्रदर्शन गरेको हो । कांग्रेसले प्रतिनिधि सभा विघटनको घटनालाई जनताको विश्वास माथी कुठाराघात भएको ठहर गरेको छ ।
हेटौंडामा आयोजित विरोध सभामा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले प्रधानमन्त्री ओलीले जनताप्रति विश्वासघात गरेको आरोप लगाईन् । ‘कम्युनिष्ट सरकारले जनताको हितमा कुनै पनि काम गर्नै सकेको छैन,’ उनले भनिन्, ‘अहिले प्रतिनिधिसभाको विघटनको घटना भएको छ । यो जनताको विश्वास माथीको कुठाराघात हो । दुई तिहाई नजिकको बहुमत प्राप्त सरकारले संविधानमा नै नभएको व्यवस्थामा टेकेर विघटन गर्नु जनताको मतकै अपमान हो ।’
ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान माथी नै कुठाराघात गरेको आरोप लगाएकी छन् । ओलीले व्यक्तिगत लहडमा प्रतिनिधि सभा घिटन गरेर जनताको मतको अपमान गरेको बताइन् । ओलीको यस किसिमको गलत क्रियाकलापको विरुद्धमा कांग्रेस अघि सरेको भन्दै जनताको हितमा कांग्रेसले काम गर्ने दाबी गरिन् । नेतृ डिनाले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त संविधानको कार्यान्वयन र लोकताान्त्रिक गणतन्त्रको संस्थागत बिकास नहुन्जेलसम्म नेपाली कांग्रेस चुप लागेर नबस्ने पनि बताइन् ।
उनले नेपाली कांग्रेस नेपाली जनताकै साथ र सहयोगमा पुनः स्थापित हुने दावी गर्दै कांग्रेसको आन्दोलनमा निरन्तर सहयोग गर्न आग्रह गरिन् । यस्तै विघटित प्रतिनिधिसभाका सांसद प्रकाश स्नेहीले केपी ओलीले निर्वाचनको घोषणा गरेपनि त्यो नहुने बताए । ‘निर्वाचन गर्नुभनेको बयलगाडा चढेर अमेरिका जानु सरह हो,’ उनले भने,‘यो सरकारकाले निर्वाचन गर्ने कुनै मनसाय देखाएको छैन । निर्वाचन हुनै सक्दैन ।’ उनले केपी ओलीले निर्वाचन गराउनकै लागि संसद विघटन नगरेको दावी गरे । भ्रष्टाचार गर्दिन भन्ने प्रधानमन्त्रीकै वरिपरी धेरै भ्रष्टाचार हुँदा पनि चुप बसेको उनको आरोप छ ।
नेपाली कांग्रेस हेटौडा नगरसभापति आनन्द पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद प्रकाश स्नेही, नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णु लामिछाने, सल्लाहाकार अशोक शाक्य, जिल्ला सदस्य राजिव सुवेदी, हरि वाग्ले, सुशान्त श्रेष्ठ, महासमिति सदस्य दिनेश उपाध्याय लगाएतको उपस्थिति रहेको थियो । सभाअघि फरेष्ट्रि गेट अघि भेला भएका नेपाली कांग्रेसका नेता तथा कार्यकताहरुले हेटौंडा बजारमा विरोध प्रदर्शन गरेका थिए ।
यस्तै, प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली काँग्रेसले भीमफेदीमा पनि विरोध प्रदर्शन सहित सभाको आयोजना गरेको छ । केन्द्रीय समितिको निर्देशन अनुसार भिमफेदी गाउँपालिका समितिले प्रधानमन्त्री ओलीको असंबैधानिक कदम विरुद्ध प्रदर्शन तथा सभाको आयोजना गरेको हो ।
नेपाली कांग्रेस भिमफेदी गाउँपालिका समितिका सभापति सञ्जीव श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डिनाले नेपाली कांग्रेस कम्युनिष्टहरुले चलाएको सर्वसत्तावादको विरुद्धमा सडकमा उत्रिन बाध्य भएको उल्लेख गर्दै केपी ओलीको असंबैधानिक कदमले खतरामा परेको संविधान र लोकतान्त्रको रक्षाको लागी सडकमा आएको बताइन् ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेसकी महासमिति सदस्य एवम् जिल्ला प्रतिनिधि रिता खनालले भ्रष्टाचारमा लिप्त भएका कम्युनिष्टहरु भागबण्डा नमिलेपछि टुक्रिने अवस्थामा पुगेको दावी गरिन् ।
उनले कसैको स्वार्थका कारण नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त संबिधानलाई खतरामा पार्न नसकिने बताइन् । कार्यक्रममा जिल्ला सचिव आनन्द कठायत, महासमिति सदस्य दिनेश उपाध्याय, जिल्ला सदस्य अमृता थापा, नेपाल महिला संघकी जिल्ला सचिव निलम देवकोटा, क्षेत्रीय सचिव ओम बस्नेत, विद्यार्थी नेता मिलन पुडासैनी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै नेपाली कांग्रेस थाहा नगर कमिटिले वडा नम्वर ७ डांडावासमा ¥याली सहित संसद विघटनविरुद्ध विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस जिल्ला सल्लाहकार तथा महासमिति सदस्य जयराम लामीछानेको प्रमुख आतिथ्य र् थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा असंवैधानिक र अलोकतान्त्रिक संसद विघटनको टोल टोलवाट विरोध गर्दै एकढिक्का भएर लाग्न जोड दिइएको जिल्ला सदस्य प्रमोद कृष्ण जोशिले जानकारी दिए । ।
थाहा नगरपालिकाको वडा नम्वर ७ डांडावासमा वृहत भेला सहितको विरोध सभामा वडा सदस्य शिवराज थिङको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा जिल्ला सदस्य खडग बहादुर गोपाली, जिल्ला सदस्य भिमवहादुर भोन्जन लगायतको आतिथ्य रहेको थियो ।
राक्सिराङ र मनहरीमा पनि प्रदर्शन
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरिनु असंवैधानिक भएको भन्दै राक्सिराङ र मनहरीमा पनि आन्दोलन भएको छ ।
राक्सिराङ गाउँपालिकाको बोडबारीदेखि चैनपुरसम्म विरोध ¥याली निकालिएको थियो । चैनपुरमा विरोधसभाको आयोजना गरिएको थियो । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका सभापति विरेन्द्र जिम्बाको अध्यक्षतामा भएको कार्यकममा नेपाली कांग्रेस महासमिति सदस्य उमा दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सन्तबहादुर प्रजा, पार्टी जिल्ला सदस्य एवम् ८ नम्बर वडाका निर्वाचित वडाध्यक्ष रामकृष्ण प्रजा, पार्टी पूर्व जिल्ला सहसचिव विष्णुराम चेपाङ, राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ, पार्टी क्षेत्रीय सचिव सन्त थापा, राक्सिराङ(२ का वडाध्यक्ष सूर्यबहादुर मोक्तान, पार्टी १ नम्बर वडा सभापति सिंगराम ब्लोनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमकैबीच विभिन्न पार्टी परित्याग गरी १ सय ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले सरकारको असंवैधानिक कदमविरुद्ध कांग्रेसले निरन्तर आन्दोलन गर्ने चेतावनी दिए ।
यस्तै, मनहरी गाउँपालिका–९ स्थित सामुदायिक वन समितिको भवनबाट निकालिएको ¥याली रजैया चोकमा आएर सभामा परिणत भएको थियो । नेपाली कांग्रेस मनहरी गाउँपालिका सभापति नारायण उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यकममा नेपाली कांग्रेसका महासमिति सदस्य रन्जन कालाखेती, महाधिवेशन प्रतिनिधि जानकी लामा, जिल्ला सदस्य नवराज सुवेदी, कमला मैनाली, क्षेत्रीय सल्लाहकार शंकर न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए । गाउँपालिकाका उपसभापति मुक्तिनाथ अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै प्रमख अतिथि अर्यालले संविधानलाई मिचेर संसद विघटन गरिनु खेदजनक भएको टिप्पणी गरे । संविधानको रक्षा र ओलीको कदमको विरुद्धमा आफूहरुले निरन्तर आन्दोलन र विरोध गर्ने अर्यालले बताए । कार्यक्रमकैबीच ३५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।