संसद विघटनविरुद्ध आज कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दै
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशका ७ सय ५३ वटै स्थानीय तहमा संसद विघटनको विरोधमा प्रदर्शन गर्दैछ ।
संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा कांग्रेसले देशका सबै स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो । कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो (शुक्रबार) एक विज्ञप्ति जारी गरी विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरिसकेका छन् ।
विरोधमा सहभागी भएर प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न उनले आह्वान गरेका छन् ।
‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘पार्टीका सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु ।’
यसअघि कांग्रेसले गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।