नेपालमा ओलीज्मको हावा बग्ने खतरा छ : बाबुराम भट्टराई

निरन्तर न्यूज
१ माघ २०७७, बिहीबार ०८:२०

काठमाडौं । चार वर्ष अगाडि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माघे सङ्क्रान्तिको शुभकामना दिँदै गरेको राजनीतिक भविष्यवाणी सत्यको नजिक देखिएको छ ।

उनले सन् २०१७ मा युवालाई सम्बोधन गर्दै विश्वमा ट्रम्पिज्मको खतरनाक हावा बग्ने र नेपालमा पनि ओलीज्मको हावा बग्ने खतरा देखिएको बताएका थिए । अहिले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ भने नेपाली केपी ओलीले असंवैधानिक कदम चालेर संसद विघटन गरिदिएका छन् ।

‘विश्व यतिबेला ट्रम्पिज्मको खतरनाक हावामा बग्दैछ भने नेपालमा पनि ओलीज्मको हावा बग्ने खतरा देखिएको छ,’ डा. भट्टराईले यसको कारण खोतल्दै भनेका थिए, ‘अन्य थुप्रै कारणहरूका अतिरिक्त यसको एउटा मुख्य कारण एक्काइसौं शताब्दीसम्म आइपुग्दा ज्ञान र विज्ञानका क्षेत्रमा जुन ठूला आविष्कारहरू भएका छन् तीबारे हाम्रो युवा पुस्ता राम्ररी परिचित नहुनु र केही निहित स्वार्थी व्यक्तिहरूको हौवा पछाडि दौडन पुग्नु हो ।’

उनले युवाहरुलाई सम्बोधन गर्दै आफ्नो पुस्ताका मान्छेहरुले पछिल्लो ज्ञान र विज्ञानलाई ग्रहण र आत्मसात गर्ने त्यति धेरै अपेक्षै गर्न नसकिने र नहुने स्पष्ट पारेका थिए । उनले युवाहरुलाई तीन पुस्तकहरु पढ्न सिफारिस गर्दै लेखेका थिए, ‘यी सबैको उत्तर म जस्तो एउटा विपन्न ठाउँमा बस्ने मान्छेसँग हुने कुरो भएन । तर आजको सूचनासञ्चारको विकसित युगमा तपाईंहरूले खोज्न र पाउन सक्नुहुन्छ । त्यो दिशामा अघि बढ्न तपाईंहरूलाई यी निम्न पुस्तकहरू राम्रो रिफरेन्स बन्न सक्छन् कि?’

यस्तो थियो भट्टराईको सन्देश-

युवा साथीहरूसँग मेरो विनम्र आग्रह !!

विश्व यतिवेला Trumpism को खतरनाक हावामा बग्दैछ भने नेपालमा पनि Olism को हावा बग्ने खतरा देखिएको छ । अन्य थुप्रै कारणहरूका अतिरिक्त यसको एउटा मुख्य कारण एक्काइसौं शताब्दीसम्म आइपुग्दा ज्ञान र विज्ञानका क्षेत्रमा जुन ठूला आविष्कारहरू भएका छन् तीबारे हाम्रो युवा पुस्ता राम्ररी परिचित नहुनु र केही निहित स्वार्थी व्यक्तिहरूको हौवा पछाडि दौडन पुग्नु हो । मैले युवा साथीहरूलाई किन विशेष सम्वोधन गरिरहेछु भने मेरो पुस्ताका मान्छेहरूले त पछिल्लो ज्ञान/विज्ञानलाई ग्रहण र आत्मसात गर्ने त्यति धेरै अपेक्षै गर्न सकिन्न र हुन्न पनि!

हामीले यतिवेला बुझ्नुपर्ने मुख्य कुरा भनेको – हामी मानव जाति को हौं? हामी कहिले, कहाँबाट, कसरी विकसित हुँदै आयौं ? हामी विभिन्न जाति, राष्ट्र, समुदायमा कसरी विभाजित भयौं? हामी बीचको साझापन र भिन्नता के हो? मान्छेमा निजीपन र सामुहिकता कसरी उत्पति भयो र ती दुइ वीचको अन्तर्सम्बन्ध के हो? मानव जाति र मानव सभ्यता भविष्यमा कुन दिशातिर उन्मुख हुँदैछ? हामी सचेत मान्छेहरूले हाम्रो मानव जातिलाई सुखसमृद्धि सहित सुरक्षित राख्ने हो भने के गर्नुपर्ला? आदि इत्यादि!

यी सबैको उत्तर म जस्तो एउटा विपन्न ठाउँमा बस्ने मान्छेसंग हुने कुरो भएन! तर आजको सूचनासंचारको विकसित युगमा तपाइँहरूले खोज्न र पाउन सक्नुहुन्छ! त्यो दिशामा अघि बढ्न तपाईंहरूलाई यी निम्न पुस्तकहरू राम्रो रिफरेन्स बन्न सक्छन् कि? :

1. Edward O. Wilson (2012 ) The Social Conquest of Earth

2. Yuval Noah Harari ( 2014 ) Sapiens: A Brief History of Humankind

3. – do – Homo Deus: A Brief History of Tomorrow

माघे संक्रान्ति २०७३ को हार्दिक शुभकामना !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*