संसद पुनःस्थापना भए चुनावमा जान तयार : जसपा अध्यक्ष ठाकुर
रुपन्देही । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसद पुनःस्थापना भए चुनाव जान तयार रहेको बताएका छन् । आइतबार भैरहवा पुगेका ठाकुरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धारणासँग मिल्ने धारणा व्यक्त गरेका हुन् ।
ठाकुरले अदालतको नतिजा पर्ख र हेरको अवस्थामा रहेको स्पष्ट पारे । जसपाका अरु शीर्ष नेताहरु असंवैधानिक कदम नसच्याएसम्म आन्दोलन जारी राख्नुपर्ने र प्रधानमन्त्री केपी ओलीले चुनाव गराउने मनसायका साथ घोषणा नगरेको बताउँदै आएका छन् ।
प्रेस नेपालले भैरहवामा गरेको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले भने, ‘प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतप्रति पूर्ण विश्वास गर्दै निष्पक्षता र न्याय निरुपणमा हुनेमा पूर्ण विश्वास छ ।’
उनले अगाडि भने, ‘हामी पर्ख र हेरको स्थितिमा छौं । अदालतको निर्णयपछि मात्र अगाडिको रणनीति निर्धारण गरिनेछ ।’
प्रतिनिधिसभा विघटन असामयिक र असंवैधानिक भएकाले यसविरुद्ध आफ्नो पार्टीले सबैभन्दा पहिले आन्दोलन सुरु गरेको स्मरण गराउँदै उनले भने, ‘हामी संसद पुन:स्थापना नभएर चुनावमा जानु परे तयार छौं ।’
शनिबार कांग्रेस सभापति देउवाले पनि यस्तै आशयको अभिव्यक्ति दिएका थिए । ‘प्रधानमन्त्रीको पार्टी चुनावमा जाने, हामी घरमै बसेर काम छैन, अदालतले जे फैसला गर्छ, हामी स्वीकार गर्छौं । अदालतले जनतामा जाने फैसला लिए के बिग्रियो त ? सर्वोच्चभन्दा जनता नै ठूलो अदालत हो । चुनावमा जाने निर्णय आयो भने कांग्रेस भाग्न हुन्न,’ विरोधसभामा उनले भने ।