अखिलले ओलीलाई सम्झँदै बयलगाडा प्रदर्शन, प्रहरी हस्तक्षेप
काठमाडौं । असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध सांकेतिक रुपमा बयलगाडा प्रर्दशन गरिएको छ ।
नेकपाको प्रचण्ड–नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूको आयोजनामा आइतबार संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा काठमाडौँको माइतिघर मण्डलामा सांकेतिक रुपमा बयलगाडा प्रदर्शन गरिएको हो ।
थापाथली इन्जिनियरिङ क्याम्पसबाट बयलगाडासहित निस्किएको र्यालीसहितको विरोध प्रदर्शन माइतिघर मण्डलासम्म पुगेको थियो । बयलगाडामा प्रधानमन्त्री ओलीको पुत्ला बनाएर सो पुत्ला दहन गरिएको थियो । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रधानमन्त्री ओलीले जनआन्दोलन–२ मा गणतन्त्र आउनु भनेको बयलगाडामा अमेरिका पुग्न जस्तै हो भनेर दिएको अभिव्यक्तिलाई व्यंग्य गर्दै उनीहरुले बयलगाडा प्रदर्शन गरेका हुन् । पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको अनेरास्ववियुले आइतबार काठमाडौसहित देशका विभिन्न जिल्लामा बयलगाडा प्रदर्शन गरेको हो ।