संसद विघटन गरेपछि केपी आफै कामचलाउ हाे : अध्यक्ष नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहका अध्यक्ष माधवकुमार नेपालले संसद विघटन गरेपछि केपी ओली आफै कामचलाउ बनेकाे बताए ।
कम्युनिष्ट नेता जयगोविन्द साहको ३१ औं स्मृति सभालाई सिरहाको वस्तीपुरमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले अध्यक्ष नेपालले केपी शर्मा ओलीको अर्को नाम झुट, अहंकार र घमण्ड भएको बताए । नेता नेपालले ओली भष्मासुर, दुर्योधन र दुशासन प्रवृतिको भएको बताए । उनले भष्मासुर प्रवृतिका ओलीलाई छिट्टै आफूहरुले भष्म गरिदिने चेतावनी समेत दिए । ‘ओली दुर्योधन, दुशासन र भष्मासुर प्रवृतिका छन् । त्यसैले उनीबाट देश परिवर्तन, समाज रुपान्तरण र जनहतिको काम सम्भव छैन’, अध्यक्ष नेपालले भने, ‘हामी छिट्टै भष्मासुरलाई नै भष्म गरिदिन्छौं ।’
अध्यक्ष नेपालले बहुमत आफ्नो पक्षमा रहेको दावी गर्दै ओलीको असंवैधानिक ‘कू’ का विरुद्ध आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व शिक्षामन्त्री तथा नेकपा स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले पार्टीमा सशक्त अनुशासनको अवश्यक्ता रहेको बताए । हरेक दिन प्रधानमन्त्री ओली जथाभावी झुट बोलेर भ्रम फैलाउने गरेकाले केपी प्रवृतिबाट बच्न उनले आग्रह गरे ।