संसद विघटनको विरोधस्वरुप विवेकशील पार्टीले ऐना सहितकाे प्रदर्शन
काठमाडौं । संसद विघटनको विरोधमा विवेकशील पार्टीले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै विवेकशीलले ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा ऐनासहित प्रदर्शन गरेको हो ।
ऐना बोकेर प्रदर्शनमा उत्रिएका विवेकशीलका कार्यकर्ताहरुले लोकतन्त्रको सर्वोच्चता जोगाउँदै लुटतन्त्रको अन्त्य हुनुपर्ने, नागरिकको साथ छ, सर्वोच्चको आश छ,प्रतिगमन र अधिनायकवादको अन्त्य हुनुपर्ने,‘रिफ्लेक्ट गरौं नागरिकले/समाजले/दलले/सरकारले’ लेखिएको प्लेकार्ड समेत बोकेका थिए ।
उनीहरुले ‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्री ज्यू’ लेखिएको घडी पनि प्रदर्शन गरेका थिए। केपी ओली सरकार अधिनायकवादको बाटोमा हिँडेको उनीहरुले बताएका छन् ।
सधैं विवाद र झैझगडा गरेर देशलाई अस्थिरतामा राखिरहेका राजनितिक नेतृत्वहरुले एक पटक आ–आफ्नो अनुहार र व्यवहार ऐनामा हेरुन् भन्ने मनसायका साथ आफूहरुले ऐना देखाएर प्रदर्शन गरेको सो पार्टीले जनाएको छ ।