केपी शर्मा ओली यो सबै परिवर्तनको विरोधी मान्छे हुन् : बाबुराम भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको बताएका छन् ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंको बानेश्वरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओली पछिल्लो पटक भएको सबै परिवर्तनको विरोधी मान्छे भएको आरोप लगाए । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले परिवर्तन विरोधी ओलीलाई नेकपाले कसरी यहाँसम्म ल्यायो भनेर प्रश्न गरेका छन् ।
‘केपी शर्मा ओली यो सबै परिवर्तनको विरोधी मान्छे हुन्’, उनले भने, ‘नेकपाका साथीलाई अन्यथा नपरोस्, तपाईहरुले यस्तो मान्छेलाई कसरी यहाँसम्म बोकेर ल्याउनु भो ? हामीलाई बडो अचम्म लाग्छ ।’
उनले ओलीको झापा आन्दोलन र ४० को दशकमा अग्रगामी भूमिका रहे जेलबाट निस्केपछि परिवर्तनविरोधी भएको बताएका छन् ।
उनले प्रधानमन्त्री ओली गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता लगाएतका परिवर्तनविरोधी भएको बताए । ‘उहाँले इमान्दारितापूर्वक नै भन्नु भएको छ, पछिल्लो समय भएका परिवर्तन स्वीकार्य छैन भनेर’, डा. भट्टराईले, ‘त्यसैले उहाँ इमान्दार तानाशाह हो ।’