संसद विघटनविरुद्ध काँग्रेसकाे दोस्रो चरणको आन्दोलन घोषणा
काठमाडौं। संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको हो ।
पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको छ । उक्त सहमति लिएर शीर्ष नेताहरु बैठक हलमा प्रवेश गरेका छन् । दिउँसो १ बजेलाई बोलाइएको बैठक ३ः३० बजेबाट सुरु भएको छ । बैठकमा नेताहरू धारण राख्ने क्रम जारी छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक र संविधानको मर्म तथा भावनाविपरीत कदम चालेकोले आन्दोलन गर्नुपर्ने बताइरहेका छन्। तर सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्चमा रहेकोले कानुन मान्ने पार्टीले अदालतको निर्णय पर्खनुपर्ने बताइरहेका छन्। नेता पौडेलले आन्दोलन र पार्टीको महाधिवेशन सँगसँगै लैजाने अभियानमा आफूहरू रहेको बताएका छन्।